वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
ताप्लेजुङ्ग जिल्ला : विश्वकै गुराँसहरुको राजधानी
Prabhu Bank AD

संक्षिप्त परिचय
ताप्लेजुङको नामाकरण प्राचिन कालमा “ताप्ले” नाम गरेको राजाको जोङ ‘किल्ला’ यस स्थानमा रहेको हुनाले ताप्लेजुङ रहन गएको हो । यो जिल्लाको कुल क्षेत्रफल ३६४६ वर्ग किलोमिटर छ। उत्तरी अक्षांस २७० १५” र २७० ५७” र पूर्वी देशान्तर ८७० २७” र ८८० १२” बिच समुन्द्री सतह ७७७ मिटर देखि ८५८६ मिटर कञ्चनजंगा हिमालसम्मको उचाइमा यो जिल्ला अवस्थित रहेको छ । औषत तापक्रम ११.३० सेल्सियस (न्यूनतम) डीग्रि सेल्सियस (पुस), अधिकतम ३० डिग्री सेल्सियस (जेष्ठ), वर्षा औषत १४४० मिलिममिटर रहेको छ। यो जिल्लालाई २ निर्वाचन क्षेत्र, ८ गाउँपालिका र १ नगरपालिकामा विभाजन गरिएको छ भने ताप्लेजुङ नगरपालिका स्थित फुङ्लिङ बजार यो जिल्लाको सदरमुकाम हो । यो जिल्लाको उत्तरमा चीनको तिब्बत, पुर्वमा भारतको सिक्किम, पश्चिममा संखुबासभा, दक्षिणमा तेह्रथुम र पाँचथर जिल्ला पर्दछ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमशिखर कंचनजंघा (८५८६ मिटर) र अन्य ७००० मिटर भन्दा अग्ला १० वटा भन्दा बढी हिमालहरु रहेको जिल्ला, नेपालको सबैभन्दा धेरै हिमताल लगभग ३००, नेपालमा सर्वप्रथम सुर्यदय हुने, जैविक विविधता, प्राकृतिक सुन्दरता, धार्मिक, ऐतिहासिक, जलस्रोतको धनी, बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक आदिको संगम स्थलको रुपमा ताप्लेजुङ जिल्लालाई लिन सकिन्छ।

हिमश्रृंखला

कंचनजंघा हिमश्रृंखला भित्र पर्ने कंचनजंघा हिमाल ८५८६ मिटर यो हिमाल विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो। यो हिमश्रृंखलाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पुर्वमा भरतको स्वशासित क्षेत्र सिक्किम पर्दछ। यो हिमश्रृंखलामा विश्वको सबैभन्दा धेरै ७००० मिटर भन्दा अग्ला हिमालहरु छन्। जसमा काम्बाचेन ७९०२ मिटर, जानु ७७१० मिटर, जोसाङ ७४८४ मिटर, टेन्ट पिक ७३६५ मिटर, कावु ७३५३ मिटर, यालुङ ७३४२ मिटर, किरातचुलि ७२१५ मिटर, प्यारामिड पिक ७१२३मिटर, जनक (कुम्भकर्ण) ७०९० मिटर, टुविन्स ७००४ मिटर, कंचनजंघा पश्चिम ८५०५ मिटर र दक्षिण ८४७६ मिटर रहेको छ।

धार्मिक स्थलहरु

धार्मिक दृष्टिकोणले पनि ताप्लेजुङ निक्कै प्रख्यात छ । यहाँ धार्मिक तथा ऐतिहासिक स्थलहरु मठमन्दिर, गुम्बा प्रशस्तै छन् । जसमध्ये ३७९४ मिटरको उचाईमा रहेको पाथीभरा मन्दिर क्षेत्र धार्मिक पर्यटकीय तथा जैविक विविधताको दृष्टिकोणले प्रसिद्ध छ। यो मन्दिर ताप्लेजुङ बजारदेखि पूर्वोत्तर करिब १७ किलोमिटरको दुरिमा पर्दछ । अन्नले भरिएको पाथीको आकृतिमा देखिने शिखरमा मन्दिर रहेकोले यो स्थललाई पाथीभरा भनिएको हो। यो मन्दिर क्षेत्रबाट नेपालका धेरै हिमश्रृंखला र कंचनजंघा हिमश्रृंखलालाई अझ नजिकबाट अवलोकन गर्न सकिन्छ । यहाँबाट पुर्वी नेपालको धेरै भू–भाग र भारतको दार्जिलिङ समेत देख्न सकिन्छ । यो क्षेत्रमा २४–२५ प्रजातिको लालिगुरास, चिराइतो, बुढो ओखती, हङचुर जडिबुटि र हाब्रे (रेडपाण्डा), भालु, डाँफे, मुनाल, जस्ता वन्यजन्तु र चराचुरुङ्गी पाउन र अवलोकन गर्न सकिन्छ ।

ताप्लेजुङ्ग जिल्लाको अस्तित्व बोकेको साबिकको ओलाङचुङगोला गा.वि.स.मा रहेको ४०० वर्ष भन्दा पुरानो दिकि छ्योलिङ्ग गुम्बा पनि एक धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल हो। योगुम्बा आजभन्दा ४०० वर्ष पहिला लामा एसेले बनाएका थिए। यो गुम्बामा ऐतिहासिक बुद्धका मुर्तिहरु, अखण्ड बत्ती,चेरेसी च्याउ, जसमा बुद्ध मन्त्र “ऊँ माने पेमे हम्” तिबेतियन भाषामा कुँदिएकै अवस्थामा केही वर्ष अघि नजिकैको जंगलको एक रुखको टुप्पोमा पाइएको थियो। यी यस्ता ऐतिहासिक तत्वको कारणले गर्दा यो गम्बा ज्यादै महत्वपूर्ण धार्मिक स्थलको रुपमा लिइन्छ ।
यो गुम्बा ओलाङचुङ गोलादेखि केहि माथि पहाडमा रहेको छ । यो गुम्बा मात्र होइन ओलाङचुङ बस्ति नै पुरानो, प्राकृतिक सुन्दरता, वालुङ जातिको पृथक पहिचान, जिवन शैली, सांस्कृति, भेषभुषा, चालचलन आदिको कारणले गर्दा पनि ओलाङचुगोला पर्यटकीय र धार्मिक दृष्टकोणले महत्वपूर्ण र सुन्दर छ। यो ठाँउ चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने भएकोले व्यापारिक बजारको रुपमा पनि लिइन्छ।

हिमताल, पोखरी र झरनाहरु

नेपालको सबैभन्दा धेरै ताल तलैया तथा हिमताल भएको जिल्लाको रुपमा ताप्लेजुङ्गलाई चिनिन्छ। ३०० भन्दा धेरै हिमतालहरु मध्ये साबिकको तिम्बुङ पोखरी कालिखोला गा.वि.स.मा पर्ने धर्मिक, जैविक तथा साँस्कृतिक महत्वको सिमसार क्षेत्र हो। सिमसार सम्बन्धी जैविक सञ्चारको छाँयामा परेको तिम्बुङ पोखरी कन्चनजङ्गा संरक्षण क्षेत्रभन्दा बाहिर पर्ने पवित्र पोखरी हो।
किरात लिम्बु भाषामा तिम्बु भन्नाले “पोखरीमा टिलपिल हुने गरी पानी हुनु वा भरिनु” हो। उक्त पोखरी भरी पानी जमेको वर्ष गाँउघरमा अन्नपातको उब्जनी राम्रो हुने कुरामा स्थानीय बासिहरु गहिरो विश्वास राख्छन्।

फुङ्फुङे झरना पर्यटकीय र धार्मिक दृष्टिकोणले प्रसिद्ध र सुन्दर छ।यो झरना साबिकको फुङ्लिङ उत्तर साँवा गा.वि.स.मा पर्छ । ३०० मिटर भन्दा अग्लो चट्टानको कापबाट फुङफुङ गर्दै यो झरना तल झर्छ र फेदमा फुङफुङे देवीको पूजास्थल छ।त्यसपछि यो पानि गएर मेवा खोलामा झर्छ ।

आदिवासी जनजाति तथा संस्कृति
ताप्लेजुङ्ग जिल्ला बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संगम स्थल मानिन्छ।जिल्लाको तल्लो भेगमा ब्राम्हण क्षेत्री आदि जातजातिहरु बसोबास गर्ने गर्दछन् भने उच्च पहाडि भेग ओलाङचुङगोला, घुन्सा, याङमा, तोक्पेगोल, शेर्पा लगायतका जातजाति बस्ने गर्दछन्। यी जातिहरुको आफ्नै भाषा, लिपि, धर्म,पेशा, (खेतिपाति चौरी पालन, छुर्पी, घ्यु उत्पादन र गलैचा व्यापार), संस्कार चाडपर्व ङ्युङ्ने, ठुक्पाछेसी, फुटुक, ग्यासो, भेषभुषा (बख्खु, दोचा, आङ्गी, पाङदेन, केतेन), गरगहना (रेजी, हारी, काउ, सुकुम पोसिल) खानपिन, लोकनाच (स्यार्बो) र लोक परम्पराहरु छन्। त्येसैगरी मध्य पहाडी भेगमा बसोबास गर्ने आदिम जातजाति मध्ये लिम्बु जाति ताप्लेजुङ्ग लगायत पूर्वी नेपालको मुख्य आदिवासी जनजाति हो। यो जातिको आफ्नै भाषा, संस्कार, संस्कृति (यवा नाच, धान नाच, च्याब्रुङ नाच), धर्म चालचलन परम्परा भाषा लिपी, चाडपर्व (चासोक तङनाम, ककफेक्वा तङनाम, वलिहाङ तङनाम) भेषभुषा (तागा, मेख्ली, गरगहना, साम्याङफुङ, नेसे), खानपिन (तोङवा) लोकगीत (पालम, हाक्पारे, ख्याली) र मौलिक परम्पराहरु छन्। लिम्बु जाति विश्वकै पृथक पहिचान बोकेको जाति मध्ये पर्दछ। अन्य जातिहरुमा गुरुङ, मगर, राई, तामाङ, सुनुवार, भुजेल, नेवार, कामी, दमाई, सार्की, क्षेत्री र ब्राम्हण आदि जातिहरु पनि प्रसस्तै रहेका छन् ।

मुख्य वन्यजन्तु र चराचुरुङीहरु

ताप्लेजुङ्ग दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी पाइने जिल्ला हो । यो जिल्ला समुन्द्र सतह ७७७ देखि ८५८६ मिटर उचाइसम्म भएकोले यहाँ विविध किसिमका वन्यजन्तु र चराचुरुङ्गीहरु पाइन्छन्। यस जिल्लामा विश्वका दुर्लभ हिँउचितुवा, हिमाली भालु, हाब्रे रेडपाण्डा, कस्तुरी, मृग, चितुवा, भालु आदि प्रसस्तै पाइन्छन् । त्यसैगरी डाँफे, मुनाल, मयुर, कालिज, चिमिले, काँडे भ्याकुर, हुचिल, गिद्दि आदि दुर्लभ चराचुरुङ्गीहरु पनि प्रसस्तै पाइन्छन् । विशेषगरी कंचनजंघा, तिम्बुङ पोखरी, पाँथीभरा, तोक्पेगोला तथा ओलाङचुङगोला क्षेत्रमा वन्य जन्तु तथा चराचुरुङ्गी पउनुको साथै अवलोकन गर्न पनि पाइन्छ ।

जडिबुटीहरु

ताप्लेजुङ्मा महत्वपुर्ण जडिबुटिहरु अत्याधिक रुपमा पाइन्छन् । पाँच औले, विख्मा, कुट्की, चिराइतो, सर्मागुरु, पदमचाल, पाखनवेद, टिमुर, यार्सागुम्बा, अलैची, चिराइतो आदि प्रमुख जडिबुटीहरु हुन्। खोज र अन्वेषणको कमीले धेरै जडिबुटिहरु प्रकाशनमा आएका छैनन्। यस जिल्लाको मुख्य आयस्रोत र खेतीको रुपमा अलैची र चिराइतोलाई लिइन्छ । यो जडिबुटि पहाडि भेगमा उत्पादन हुने भएकोले जिल्लाको अधिकांश क्षेत्रमा उत्पादन हुन्छ ।

स्थानीय तह

यस जिल्लामा एक वटा नगरपालिका र ८ वटा गाउँ पालिका रहेका छन् । जसको संक्षिप्त परिचय यस प्रकार रहेको छ ।

फुङलिङ नगरपालिका
साबिक ताप्लेजुङ नगरपालिका नेपाल सरकारको निर्णय अनुसार बि।स।२०७१ साल बैशाख २५ गते गठन भएको नयां नगरपालिका हो । हाल ताप्लेजुङ नगरपालिका नाम परिवर्तन भई फुङलिङ नगरपालिका भएको हो । यस नगरपालिकाको कुल क्षेत्रफ़ल १२५.५७ बर्ग किलोमिटर रहेको छ । नेपालमै पहिलो घामको झुल्को पर्ने ठाँउ पर्यटनमा कुमारित्व बोकेको, धार्मिक महत्वको कोशी नदीको एक सहायक नदी तमोर किराँत धर्मको आस्थाका पवित्र स्थल लोप हुन लागेको रेड पाण्डा, कालो भालु हिउँ चितुवा,शिकारी भोटे काग, डाँफे, मुनाल, कालिज आदि दुर्लभ बन्यजन्तु र चराचुरंगीको वासस्थान, ८४४ प्रजातिका बनस्पति १६ प्रकारका जंगल २८ प्रजातिका गुराँस, ४८ प्रजातिका सुनगाभा, १३ प्रकारका रैथाने बिरुवा र १३७ प्रजातिका ग्रैह काष्ठ वन पैदावार पाउने, आदि जडीबुटी र सुन्दर फुलैफूलको बगैंचा जैविक विविधताले सम्पन्न रहेको छ । प्रकृतिको एक वरदान विश्वमा नै सबै भन्दा बढी गुराँस पाइने गुराँसको राजधानी रहेको यस ताप्लेजुङ जिल्ला वास्तबमै प्राकृतिक, जैविक,जातजाति, धार्मिक सहिष्णुता, सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालकै पहिलो घामको झुल्को पर्ने ताप्लेजुङ जिल्लाको सदरमुकाममा अबस्थित फुङलिङ नगरपालिका बिस्तारै आधुनिक शहरको रुपमा विकास भइरहेको छ ।

हाल यस नगरमा ५६४४ घरधुरी २६ हजार ४ सय ६ जना जनसंख्या रहेको देखिन्छ । यस नगरमा लिम्बू जातिको बाहुल्यता रहेको यस नगरमा लिम्बू, राई, गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्री, तामाङ,सुनुवार, कामी, दमाई, सार्की, शेर्पा, भोटे आदि जातीहरुको बसोवास रहेको छ ।

आठराई त्रिवेणी गाउँपालिका
आठराई त्रिवेणी गाउँपालिका पूर्वी नेपालको प्रदेश १ अन्तरगत ताप्लेजुङ जिल्लाको दक्षिणपश्चिम भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको फूलबारी, निघुरादीन,चाँगे र हाङपाङ गाउँ विकास समितिहरूलाई आठराई त्रिवेणी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल क्षेत्रफल ८८.८३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १३७८४ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा पाथिभरा याङ्गवारक गाउँपालिका र पाँचथर जिल्ला पश्चिममा मैवाखोला गाउँपालिका उत्तरमा फुङ्लिङ नगरपालिका तथा दक्षिणमा तेह्रथुम जिल्ला सम्म फैलिएको छ ।

सिदिङ्वा गाउँपालिका
ताप्लेजुङ्ग जिल्लाको पुर्वी भू–भागमा अवस्थित २,०६ वर्ग कि.मी श्रेत्रफलमा फैलिएको सिदिङ्वा गाउँपालिका स्थानीय सिदिङ्वा देवी अवस्थित सिदिङ्वा डाँडाको नामले नामाकरण गरिएको देखिन्छ । साविकको कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्बुदिन, मेहेले, र सुरुमखिम गा.वि.स लाई समेटी निर्माण गरिएको उत्तm गाउँपालिकामा ७ वडा रहेको छ । कुल १२०९९ जनसंख्या रहेको यस गाउँपालिका मुख्य आयश्रोत कृषि, पशुपालन तथा जडीबुटी रहेको छ । धार्मिक स्थल तिम्बङ पोखरी र सुन्दर ढ्वाङढ्वाङे झरना रहेको यो गाउँपालिकामा धेरैभन्दा धेरै पर्यटकिय, जैविक, सास्कृतिक, धार्मिक, ऐतिहासिक स्थलहरु छ।

साव्लाखु भञ्जयाङ केन्द्र रहेको यो गाउँपालिकाको केही वडा वाहेक सबै वडाहरुमा मोटरबाटो विस्तार भैसकेको छ ।

फक्ताङलुङ गाउँपालिका
फक्ताङलुङ गाउँपालिका जिल्लाको उत्तर पुर्व भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । ताप्लेजुंग जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन , खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो । फक्ताङलुङ गाउँपालिकाको कूल क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकालाई साविकको प्रत्येक गाविसलाई हाल वडामा विभाजन गरि सोहि अनुसार जम्मा सात वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १२०१७ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा ताप्लेजुंग जिल्लाको सिरीजंघा गाउँपालिका, पश्चिममा मिक्वाखोला गाउँपालिका, उत्तरमा चिन तथा दक्षिणमा फुङलिङ नगरपालिकासम्म फैलिएको छ ।

मिक्वाखोला गाउँपालिका

जिल्लामा साविकका खोक्लीङ, पापुङ्ग, लिवाङ र साँवा गाउँ विकास समितिहरूलाई समेटेर मिक्वाखोला गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ९,१६० रहेको छ । यसको क्षेत्रफल ४४२।९६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको साँवा गाविसको कार्यालयमा राखिएको छ ।

मेरिङदेन गाउँपालिका

पूर्वी नेपालको मेची अञ्‍चल अन्तर्गत ताप्लेजुङ जिल्लाको उत्तर(पश्‍चिम भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । नेपाल सरकारले वि। सं। २०७३ सालमा सङ्‌घीय मामिला तथा स्थानीय विकास मन्‍त्रालय अन्तर्गत ७४४ स्थानिय तह लागू गर्दा ताप्लेजुङ जिल्ला स्थित साविकको थिङलाबु, सान्थाक्रा, खाम्लुङ, लिङतेप, थुकिमा तथा नाल्बु गाउँ विकास समितिहरुलाई समेटी सिङ्‍गो मेरिङदेन गाउँपालिका बनाईएको हो । अधिकांश लिम्बु समुदायको बसोबास रहेको यस गाउँपालिकाको नामाकरण पनि लिम्बु भाषाबाटै गरिएको हो जसको शाब्दिक अर्थ मेरिङ भन्‍नाले दु:खरपीडारवेदना र देन भन्‍नाले ठाउँलाई बुझाउँछ । मेरिङदेन गाउँपालिकाको सिमाना पूर्वमा फुङलिङ नगरपालिका र मिक्‍वाखोला गाउँपालिका, पश्‍चिममा संखुवासभा जिल्ला, उत्तरमा मिक्‍वाखोला गाउँपालिका एवं दक्षिणमा मैवाखोला गाउँपालिका सम्म फैलिएको छ । यस गाउँपालिकाको कूल क्षेत्रफल २१०।३३ वर्ग कि। मी। रहेको छ । मेरिङदेन गाउँपालिकामा २,५७८ घरधुरी रहेका छन् । मेरिङदेन गाउँपालिकाको कूल जनसङ्ख्या १२,५४८ रहेको छ जसमा महिलाको सङ्ख्या ६,७३९ र पूरुषको सङ्ख्या ५,८०९ रहेको छ। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ ।

मैवाखोला गाउँपालिका
जिल्लाको पञ्चखपन नगरपालिका र चैनपुर नगरपालिका,उत्तरपुर्वमा ताप्लेजुङ जिल्लाकै मिरिङदेन गाउँपालिका र दक्षिणमा तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिका चार किल्ला वीच अवस्थित साबिक तीन वटा गा.वि.स.हरू (ढुङ्गेसाँघु, साँघु र फाकुम्बा) समायोजन भई मैवाखोला गाउँपालिका नामाकरण भएको हो । यस गाउँपालिकामा जम्मा ६ वडा कार्यालयहरु रहेका छन् ।

जिल्लाको राजनीतिक विभाजनको हिसाबले ताप्लेजुङको निर्वाचन क्षेत्र ‘ख’ अन्तर्गत यो गाउँपालिका पर्दछ।
क्षेत्रफल १३८ वर्ग किलोमिटर रहेको छ । वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार यस गाउँपालिकामा २२७५ घर धुरी, पुरुष ५२६४ र महिला ५१०१ गरि जम्मा १०३६५ जनसंख्या रहेको छ ।

पाथीभरा याङवरक गाउँपालिका
जिल्लाको पुर्वी भागमा अवस्थित एक सुन्दर गाँउपालिका हो। यस गाउँपालिकाको कूल क्षत्रफल ९२.७६ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या १५१२४ (घर धुरि सर्भेक्षण ( २०७४, बैशाख अनुसार) रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्व–उत्तरमा सिरीजंघा गाउँपालिका,पश्चिममा फुङलिङ्ग नगरपालिका र दक्षिणमा ताप्लेजुङ्ग र पाँचथरको सिमाना कावेली खोला रहेको छ।यस गाउँपालिकामा अवस्थित पर्यटकीय स्थलहरु केसानी नाम्सानी, टोड्के पहरा,धापपोखरी, सिरीजंघा माङ्हिम, साम्बाछ्यो खोर्लिङ्ग गुम्वा रहेको छ। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ।

सिरीजङ्घा गाउँपालिका
ताप्लेजुङ जिल्लामा साविकका सिनाम, आम्बेगुदिन, सिकैंचा, तेल्लोक, पेदाङ्ग, मामाङखे, खेवाङ्ग र याम्फुदिन गाउँ विकास समितिहरूलाई समेटेर सिरिजङ्घा गाउँपालिका बनाइएको हो ।ृ यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १५,८०६ रहेको छ । यसको क्षेत्रफल ४८१.०९ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको तेल्लोक गाविसको कार्यालयमा राखिएको छ ।

(विभिन्न स्रोतहरुमा आधारित)

 

Prabhu Bank AD

सम्बन्धित खवर