काठमाडौं । कृषि विकास बैंकले ५६ औं वार्षिकोत्सवको अवसरमा ‘मातृभूमि वचत खाता’ जारी गरको छ । नेपाल धितोपत्र वोर्डले बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षण गरेको प्राथमिक निष्कासन हुने सेयर आवेदन गर्न सहजीकरणका लागि बैंकले उच्चतम व्याजदर प्रदान गर्ने गरी ‘मातृभूमि बचत खाता’ संचालनमा ल्याएको बैंकले जनाएको छ ।
बैंकका अनुसार बैदेशिक रोजगारीमा रहेका नेपालीले बैदेशिक रोजगार स्वीकृति पत्र तथा नेपालमा बैंक मार्फत् रकम पठाएको कागजातका अतिरिक्त नेपाली नागरिकताको फोटोकपी लगायत ग्राहक पहिचानका कागजात समावेश गरी खाता खोल्न सक्नेछन् । यो खाता अनलाइनका माध्यमबाट खोली ग्राहक पहिचान विवरण समावेश गर्न सकिनेछ ।
बैदेशिक रोजगारीमा गएका नेपालीले आर्जन गरेको रकम नेपालको पूँजी वजारमा लगानी गरी देशको पूँजीवजार बलियो वनाउने सरकारी नीतिमा योगदान दिन निक्षेपको यो प्रोडक्ट संचालनमा ल्याएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले बताए । निक्षेपको यो प्रोडक्टले बैदेशिक रोजगारीमा गएका नेपालीको लागि आरक्षण गरेको सेयर दरखास्त दिन सहज हुने र खाता खोल्ने ग्राहकहरुले अनलाइनका माध्यबाटै मेरो सेयर, डिम्याट तथा सि।आर।एन।नम्वर प्राप्त गर्ने उनले बताए ।
यो खाता सँगै बैंकका निक्षेपका प्रोडक्टहरुमा विविधता कायम भएको बैंकले जनाएको छ । बैंकले यसअघि वा–आमा वचत खाता, चेतनशील नारी वचत खाता, सम्वृद्धी वचत खाता, कृषक वचत खाता, एन।आर।एन।वचत खाता, सेयर होल्डर वचत खाता लगायतका वचत खाताका प्रोडक्ट पेपर जारी गरी निक्षेप स्वीकार गरिरहेको बैंकका विभागीय प्रमुख मिनराज पोखरेलले जानकारी दिए ।

यसैबीच, कृषि विकास बैंकको ५६औँ वार्षिककोत्सवको अवसरमा कृषि बिकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिका संयोजक रामबहादुर लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १ सय ४७ जनाले रक्तदान गरेका थिए ।
पेशागत महासंघ नेपालका संयोजक बाबुराम थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पेशागत महासंघ नेपालका सह–संयोजक दयाराम बस्याल, सचिवालय सदस्य मधुरेन्द्र झा, बैंकका संचालक समिति सदस्य संजिव पौडेल, बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदी, बैंक, बिमा तथा बित्तीय क्षेत्र कर्मचारी संघ नेपालका अध्यक्ष धर्मप्रसाद मैनाली, कृषि बिकास बैंक कर्मचारी संघ नेपालका संयोजक लिला जिसी लगायत बैंकका उच्च पदस्थ कर्मचारीहरु, युनियनका प्रतिनिधिहरुलगायत उपत्यकाभित्र रहेका कर्मचारीहरुको उपस्थिति संस्थाका सह–संयोजक सुरेशकुमार क्षेत्रीले बताए ।
नेपाल रेडक्रस सोसाईटीले सहजीकरण गरेको उक्त कार्यक्रम हरेक वर्ष बैंकको वार्षिकोत्सवका अवसरमा कृषि बिकास बैंक कर्मचारी संघ नेपालले आयोजना गर्ने गरेको संगठन विभाग प्रमुख छगेन्द्र आचार्यले जानकारी दिए ।

