वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
आर्टिफिसियल इन्टेलिजेन्सले थपेको चुनौती
Prabhu Bank AD

माइक्रोसफ्टका अध्यक्ष एवं उपसभापति ब्राड स्मिथले गतसाता भ्याटिकनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एक कार्यक्रममा सम्भवतः यो वर्ष एआईले मानिसको दैनिकी परिवर्तन गर्न सक्छ भन्ने बताए । प्रविधि उद्योगका अगुवा र तीन अब्राहमिक धर्मका सदस्यले भाग लिएको यो कार्यक्रममा स्मिथको टिप्पणीमा आकलन कम, पहलकदमीको आवश्यकता बढी झल्किन्थ्यो । उनको टिप्पणीमा एआईको विकासमा नैतिक, मानव–केन्द्रित दृष्टिकोणलाई अगाडि बढाउने लक्ष्य झल्किन्थ्यो ।

एआईले निःसन्देह परिचालन, नैतिक र कानुनी सरोकारको एक विशाल चुनौती पेस गर्छ र तिनको समाधान खोज्न सजिलो हुनेछैन । उसो त एआई सन् १९५० को दशकदेखि विकसित भएको हो र यसको विशिष्टता एवं सम्भावित प्रभाव अझै अज्ञात छन् ।

निःसन्देह हालैका घटनाक्रमले एआईको प्रचुर सम्भावनाका केही पक्षलाई उजागर गरेको छ, अर्थात् औषधि खोजी प्रक्रियालाई गति दिन सक्ने एप्लिकेसनदेखि ओपन एआईको च्याटजिपिटीले सिर्जना गर्ने मान्छेको जस्तै लेखनी । यद्यपि एआईले मानव अस्तित्व र सभ्यतालाई परिवर्तन गर्न सक्ने हरेक आयामबारे अनुमान गर्न अझै गाह्रो छ ।

यो अनिश्चितता नौलो भने होइन । प्रविधि क्रान्तिले हामीलाई प्रायः आश्चर्यचकित बनाउँछ, जबकि हामीले यसको विघटनकारी क्षमताबारे थाहा पाइसकेका हुन्छौँ । उदाहरण, सामाजिक सञ्जाललाई कुनै समय लोकतन्त्र प्रवद्र्धन गर्ने एक विशाल सफलताका रूपमा स्वागत गरिएको थियो, तर वास्तवमा यसले मिथ्या सूचना फैलाउन सजिलो बनाएर लोकतन्त्रलाई कमजोर बनाउन ठूलो भूमिका खेलेको छ । यस अर्थमा एआईको पनि दुरुपयोग हुनेछ भन्नु अतिशयोक्ति हुँदैन ।

अहिले पनि हामीले एआईले कसरी काम गर्छ भन्ने पूर्ण रूपमा बुझेका छैनौँ । तथाकथित ‘ब्ल्याक बक्स’ समस्या अर्थात् एआई–आधारित उपकरणका मामिलामा हामीलाई निवेश र उत्पादनबारे थाहा हुन्छ, तर बीचमा के हुन्छ भन्ने थाहा हुँदैन । यदि एआईले (कहिलेकाहीँ अपरिवर्तनीय) निर्णय गरिरहेको छ भने प्रक्रियामा हुने अस्पष्टताले गम्भीर जोखिम खडा गर्छ, जसमा मेसिन लर्निङमा निहित पूर्वाग्रहले समस्यालाई थप बढाएको छ ।

व्यक्तिगत सूचनाको दुरुपयोग र रोजगारीको उन्मूलन एआईसँग जोडिने दुई मुख्य जोखिम मानिन्छन् । यसबाहेक अमेरिकी पूर्वविदेशमन्त्री हेनरी ए. किसिंगर एआई प्रविधिले मानवीय रचनात्मकता र दृष्टिकोणमा क्षति पुग्न सक्ने बताएका छन् । र, एक तप्काले एआईले मानव जाति नै लोप गरिदिन सक्ने चिन्ता पनि व्यक्त गरेका छन् । यो स्तरको चिन्ता भइरहेका वेला एआई प्रविधिको भविष्य प्रविधि कम्पनीका सिइओ र एआई अनुसन्धाताका हातमा छोड्न मिल्दैन । उसो त कडिकडाउ नियमन समाधान होइन, तर वर्तमान नियमनको अभावलाई पूर्ति गरिनैपर्छ । जलवायु परिवर्तन नियन्त्रणका लागि जसरी वैश्विक सहकार्य भइरहेको छ, त्यसरी नै एआई नियमनका लागि पनि सहकार्य गरिनुपर्छ ।

अमेरिका र चीनबीचको प्रतिद्वन्द्वीतामा अहिले एआईले ठूलो भूमिका खेलिरहेको छ । यदि यी दुई मुलुक एक–अर्काको एआई उद्योगमा रोक लगाउने प्रयास गर्छन् भने दुवैलाई अन्य मुलुकले उछिन्ने जोखिम रहन्छ । यसकारण कार्बन न्यूनीकरणमा झैँ साझेदारी आवश्यक छ ।

सरकार र अन्य सार्वजनिक क्षेत्र मिलेर निजी क्षेत्रबाट हुने नवप्रवर्तनमाथि प्रोत्साहन एवं नियमन दुवै गरिनुपर्छ । यो भन्न जति सजिलो छ, त्यति नै गाह्रो छ कार्यान्वयन गर्न । एआईप्रति मतैक्य नभएकाले यससम्बन्धी बन्ने नियममा पनि एकरूपता देख्न सकिन्न । यसबाहेक प्रभावशाली पक्षबीचको स्वार्थको द्वन्द्व र कार्यान्वयन क्षमताको कमीले अन्तर्राष्ट्रिय मञ्चमा विश्वव्यापी रणनीति विकास गर्ने प्रयास विफल भएको छ ।

यद्यपि केही सकारात्मक समाचार पनि छन् । युरोपियन युनियनले एआई नियमको मानकीकरण गर्न एक बृहत् सिद्धान्तमा आधारित संयन्त्र सिर्जना गर्ने प्रयास गरिरहेको छ । यो वर्ष पूरा हुने अपेक्षा गरिएको एआई ऐनले युरोपियन युनियन क्षेत्रमा एआईको ‘विकास र समृद्धि’लाई गति दिने लक्ष्य राखिएको छ, जहाँ एआई प्रविधि ‘समाजको एक बलियो शक्ति हुनेछ र मानवीय हितका लागि काम गर्नेछ ।’

युरोपियन युनियन एआईसम्बन्धी नियमनका मामिलामा अग्रपंक्तिमा आउनु अस्वाभाविक होइन । अन्य महत्वपूर्ण क्षेत्रमा नियामक खाका निर्माणमा युरोपको नेतृत्वदायी भूमिका रहँदै आएको छ । तथ्यांक संरक्षणमा युरोपियन युनियनको कानुनले क्यालिफोर्नियाको उपभोक्ता गोपनीयता ऐनदेखि लिएर चीनको व्यक्तिगत सूचना संरक्षण कानुनसम्मका कानुन निर्माणलाई प्रेरित गरेको छ ।

तर विश्वव्यापी एआई नियमनमा मतैक्य अमेरिकाको संलग्नताबिना असम्भव हुनेछ । ‘विश्वसनीय एआई’को विकास र कार्यान्वयन गर्न युरोपियन युनियनसँगको साझा प्रतिबद्धताका बाबजुद अमेरिका एआई सर्वोच्चतामा प्रतिबद्ध देखिन्छ । अमेरिका आफ्ना एआई प्रविधि उद्योगको विकास मात्र नभई चीनको एआई विकासमा पनि अवरोध पु¥याउन चाहन्छ । अर्कातर्फ चीनले पनि प्राविधिक स्वायत्तता र अन्ततः सर्वोच्चता हासिल गर्ने आफ्नो लक्ष्यबाट हार मानेको छैन ।

यो प्राविधिक प्रतिद्वन्द्विताले एआई जोखिमलाई सतहमा मात्रै ल्याउँदैन, बरु यसले भूराजनीतिक जटिलता पनि थप्छ । उदाहरण, विश्वव्यापी रूपमा सेमिकन्डक्टर क्षेत्रमा ताइवानले ठूलो योगदान गर्दै गर्दा ऊ नयाँ आक्रमणको तारो बन्ने जोखिममा पनि रहँदै आएको छ । तीन दशकभन्दा बढी भइसक्दा पनि जलवायु परिवर्तनलाई रोक्न हामीले पर्याप्त काम गर्न सकेका छैनौँ । प्राविधिक प्रगतिको गतिलाई ध्यानमा राख्दै हामीसँग एआईका लागि गर्नुपर्ने सहकार्यमा जलवायु परिवर्तनमा भएको सहकार्यमा जति समय खर्च गर्ने छुट छैन । मानवकेन्द्रित सिद्धान्तअनुसार प्रविधिको विकास भए–नभएको सुनिश्चित गर्न तत्काल कदम चालेनौँ भने हामी पक्कै पछुताउनेछौँ । अन्त्यमा, एआईमा पनि जलवायु परिवर्तनमा झैँ हामीले चाँडै पहलकदमी नलिएको भन्दै पछुताउनेछौँ ।

(प्यालेसिओ स्पेनका पूर्वविदेशमन्त्री र जर्जटाउन विश्वविद्यालयका भिजिटिङ लेक्चरर हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

Prabhu Bank AD

सम्बन्धित खवर