वि.सं.२०८३ साउन २७ बुधवार
Dish Home Long Ad
दलित, गरिब, भूमिहीन सुकुम्बासीका लागि भोटको औचित्य छैन बहिस्कार गरौं
Prabhu Bank AD

जनसंख्याको करिब १४ प्रतिशत हिस्सा ओगट्ने दलित समुदाय राज्यको सबैभन्दा पीँधमा छन् । तर, पार्टीहरूले यो चुनावमा न संविधान र कानुनमा भएको दलितपक्षीय व्यवस्थालाई कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन्, न त दलितको मुक्ति, प्रतिनिधित्व, उत्थान र विकासको मार्गचित्रलाई नै चुनावी एजेन्डा बनाए । लोकतन्त्रको आधारस्तम्भ मानिने निर्वाचनलाई समाजमा उत्सवका रूपमा लिइए पनि यो निर्वाचन दलितका लागि हर्ष न विस्मातको भएको छ । त्यसैगरी भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि पनि यो चुनावको कुनै औचित्य देखिएको छैन ।

तथ्यांकहरुका अनुसार देशैभर ७० लाख सुकुम्बासी रहेका छन् । त्यसमध्ये ४० लाख त मतदाता मात्रै रहेका छन् । तर यो समुदायप्रति राज्यका सत्तासिन शासकहरु र ठूला भनिएका राजनीतिक दलहरु पूर्णतः अनुदार देखिएका छन् ।

आफूलाई समाज परिवर्तन र रूपान्तरणको संवाहक भन्न रुचाउने राजनीतिक पार्टीहरूले प्रत्येक निर्वाचनमा गरिब, दलित, सुकुम्बासी समुदायलाई बेवास्ता गर्दै आएका छन् । केवल प्रत्येक चनावमा उनीहरु भोट माग्न भने लाजै नमानी यी समुदायका बस्तीहरुमा पुग्ने गरेका छन् र अनेकौं रंगी विरंगी झुठा आश्वासनका पोकाहरु फाल्ने गरेका छन् । पटक पटक धोका खाइसकेको यो समुदाय अब फेरि आसन्न मंसिर ४ मा हुने निर्वाचनमा भोट नहाल्ने सल्लाह गर्न थालेका छन् ।

पार्टीहरूले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्ने स्थापनाकालीन उद्देश्य, समयको आवश्यकता र संविधानमा भएका व्यवस्थालाई बेवास्ता गरिरहेका छन् । केन्द्रीयदेखि स्थानीय नेता–कार्यकर्तासम्मले जातीय विभेद तथा छुवाछुत गर्ने र छुवाछुतका घटनामा संलग्न नेता–कार्यकर्ताहरूलाई संरक्षण गरी न्यायिक प्रक्रियालाई नै प्रभावित पार्ने गरेका छन्  । संविधान र कानुनविपरीतका हर्कत गर्ने व्यक्तिलाई कारबाही गर्नुको सट्टा उम्मेदवार बनाएर पुरस्कृत गरेका छन् । यसले दलित समुदायले तिनै दलितविरोधी पार्टी र नेतालाई भोट हाल्ने कि बहिष्कार गर्ने भन्नेमा गम्भीर चिन्तन–मननको आवश्यकता देखाउँछ ।

गरिबी, अशिक्षा, चेतनाको कमी, पहुँचको कमी, सूचनाको कमीजस्ता कारणले दलितहरू राजनीतिमा लाग्न सहज छैन । शताब्दियौंदेखिको वर्ण र जात व्यवस्थाले निर्माण गरेका चरम जातिवादी मूल्य, मान्यता, संस्कार र परम्परा हरेक पार्टीमा दलित राजनीतिका लागि पर्खाल बनेर उभिएका छन् । यसका साथै राजनीति पैसा, पावर, बिचौलिया र दलालको पकडमा भएकाले दलित, गरिब तथा श्रमजीवीहरूको अवस्था पार्टीमा झन् कमजोर भएको छ । यसका कारण दलितहरूले संविधानले दिएको समानुपातिक, राजनीतिक तथा नागरिक अधिकार चाहेजस्तो गरी उपयोग गर्न पाएका छैनन् ।

राजनीतिले न दलितहरूले हजारौं वर्षदेखि भोग्दै आएका समस्याहरूको समाधानको खाका दिन सकेको छ न त उनीहरूको अर्थपूर्ण प्रतिनिधित्व गराउन सकेको छ । अहिलेको चुनावमा पनि न उनीहरूले टिकट पाए न त उनीहरूका सवाललाई पार्टीहरूले सुने । कतिपय अवस्थामा त दलितहरूले स्वतन्त्र रूपमा मतदान गर्न पनि नपाउने अवस्था छ । एक हिसाबले भन्ने हो भने पार्टीहरूले दलितहरूलाई भोट बैंक र सत्तामा पुग्ने र्भयाङका रूपमा मात्र प्रयोग गरेका छन् । यही यथार्थ र नियति देशैभर रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पनि रहेको छ ।

राज्यको एउटा निकाय राष्ट्रिय भूमि आयोगले एकातिर सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरी भूमि ऐन अनुसार लालपुर्जा दिने भनिरहेको छ अर्कोतिर राज्यकै अर्को निकायले पटक पटक सुचना निकालेर नदी किनारमा बसेको बस्तीलाई विना विकल्प जबर्जस्ती उठिबास लगाउने आतंकपूर्ण उर्दीहरु जारी गरिरहन्छ । चुनावको मुखमा बर्षौदेखि बसोबास गर्दै आएका भूमिहिनहरुलाई अमानवीय र गैरजिम्मेवारीपूर्वक दिइएको यस्तो धम्कीप्रति राजनीतिक पार्टीका नेताहरुले मौनता साँध्नुले पनि संसदवादी दलहरुको भूमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुप्रतिको दृष्टिकोण सकारात्मक छैन । घोषणा पत्रमा झुठा आश्वासनहरु दिइए पनि जीवन व्यवहारमा उनीहरुले ठीक उल्टो व्यवहार चरितार्थ गराइरहेका छन् । तसर्थ, मंसिर ४ को निर्वाचनमा आफूले दिएको मत आफैलाई भारी पर्ने गरी मत हाल्नु हँुँदैन । निर्वाचन बहिस्कार गर्नुपर्छ । बरु बस्ती बस्तीमा सम्भावित दमनको प्रतिरोधका निम्ति युवाहरुको प्रतिरोधी फोर्सहरु निर्माण गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । केवल संघर्षले मात्र सुकुम्बासीहरुको छाप्रोको रक्षा गर्न सक्छ र गरिब दलित समुदायको हक अधिकार स्थापित गराउन सक्छ ।

Prabhu Bank AD

सम्बन्धित खवर