राजेश विद्रोही
नेपालको वैचारिक राजनीतिक आन्दोलनमा प्रदिप गिरी फरक विचारक दिए । उहाँका हरेक विचार देश र समाज परिवर्तन प्रति मुखरित थिए । तल भुइँ सतहमा बसेर माथिका लागि सोच्ने राजनीतिक विद्वान थिए । उसको नजिक बसेर आफ्नो समाज र राष्ट्रको वास्तविक अनुभूति गर्नेहरुको घुइँचो लाग्थ्यो । आफ्नो वास्तविक मुक्ति र अधिकारको अनुसरण गर्न नपाउने मानिसहरू गिरीलाई नै सम्झिने गर्थे । तर राज्यका शासकहरुले कहिले पनि नागरिकसँग आफ्नो जस्तो ब्यवहार गर्न सकेनन् । अधिकारको अनुभूतिबाट समेत बेखबर बनाई राखे । त्यसैले खबरदारीको अर्को नाम थियो प्रदिप गिरी ।
मधेसका दलित बाहुल्य वस्तीमा जन्मे हुर्केका गिरी मधेसी समाजमा रहेका दमन, शोषण, विभेद र उत्पीडन तथा छुवाछूत प्रथाका विरुद्धमा समेत आफ्नो वैचारिक अस्त्र छोड्थे । शासकद्वारा उत्पीडनमा पारिएका वर्ग र समुदाय प्रति उतिकै चिन्ता र चासो राख्थे । एक मनुष्यले अर्को मनुष्यप्रति गरिने अमनुष्यको व्यवहारले सबैभन्दा बढी गिरीकै बौद्धिकतामा घोच्थे । अनि सबैभन्दा बढी चिन्तित हुन्थे । किनभने उनी अम्बेदकरको असली फ्यान थिए । आवाज बिहिनहरुको पनि आवाज थिए ।
भारतको पटनाबाट समाजशास्त्र र दर्शनशास्त्रमा स्नातक गरेका गिरी साहित्यमा उतिकै अवल थिए । देशको समाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा उसको फरक विचार र दृष्टिकोण थियो । किनभने समाजको धरातलसँग उसको गहिरो सम्बन्ध थियो । त्यही गहिरो सम्बन्ध, उच्च विचार र दृष्टिकोणले हरेक नागरिकलाई सुखी, समृद्ध र सम्पन्न बनाउन सकिन्थ्यो । तर, मुलुकको गलत राजनीतिक अभ्यासले गिरी कहिले पनि सताको शिरमा पुग्न सकेनन् । न त आफ्नो सोच अनुसारको केही गर्न सक्ने अवसर नै प्राप्त गर्न सके । न त वर्तमान राजनीतिको छुद्र सता र कुर्सी मोहको लोभमा फस्ने कुचेष्टा गरे।
गिरीको संघर्षले उसको वैचारिक आन्दोलन त सफल भयो । तर, व्यवहारिक आन्दोलन भने असफल नै रह्यो । किनभने नागरिक अझै पनि असल व्यक्ति र राजनीतिलाई पहिचान गर्न सकेको छैन् । गिरी यसको ठूला उदाहरण हुन् । गलत राजनीतिक अभ्यास गरिरहेका राजनीतिक दल र नेताहरू जनतालाई धोका दिएसँगै गिरीलाई पनि धोका दिए । आफू निरन्तर योगदान दिएका राजनीतिक दल नेपाली काँग्रेसले समेत उसको क्षमतालाई प्रयोगमा ल्याउन सकेनन् । गिरी पनि यहाँको बिकृत राजनीतिक संस्कारबाट संधै टाढा रहे । राज्यको भौतिक सुख सुविधाबाट नजर समेत गाडेन । इमानदारीको राजनीतिक वैचारिक लडाइँमा डटी रहे । कहिले हार खाएनन् । आफ्नो इमान र जवानलाई तल झर्न दिनु भएन । बरु आफ्नो जीवन समर्पण गरे । त्यसैले निष्ठाको अर्को नाम प्रदिप गिरी ।
विचारका हिसाबले भारतका डाक्टर भीमराव अम्बेदकर, राममनोहर लोहिया र महात्मा गान्धी लगायतका विचारकहरुसँग समेत नजिक थिए । संसारका शक्ति राष्ट्र र कम्जोर राष्ट्रहरुबीचको सम्बन्ध र अन्तरविरोधलाई समेत नजिकबाट नियाल्ने गर्थे । संसारमा रहेका विभिन्न किसिमका मानवीय विभेदलाई कसरी अन्त्य गर्न सकिन्छ भने सिर्जनात्मक दृष्टिकोण राख्थे । प्रकृति र मनुष्य बीचको सम्बन्धलाई कसरी युग सापेक्ष बनाउनुपर्छ भने दखल राख्थे ।राजनीतिक, वैचारिक, दार्शनिक र साहित्य क्षेत्रमा उसको आफ्नै दखल थियोे । हरेक विषयलाई वैज्ञानिक र प्रकृति सम्बद्ध तरिकाले उठान गर्थे ।
दक्षिण एसियामा खासगरी भारत र नेपाली समाजमा संस्कारित बनेका जात व्यवस्थामा आधारित समाजमा डाक्टर भीमराव अम्बेदकरले जसरी आफ्नो फरक र मजबुत बिम्बको रुपमा उदाए त्यसरी नै नेपालमा अर्को अम्बेरकरको खाँचोको महसुस गर्थे गिरी । त्यसैले विचारको हिसाबले समेत उनी अम्बेदकरको फ्यान थिए । उनी दलित वस्तीहरुमा पुग्दा अम्बेदकरको बयान मात्र गर्दैन्थे । नेपाली समाजमा खड्किरहेको नेपाली मौलिकताको अम्बेदकर प्राप्तिका लागि स्कूलिंग पनि चलाउँथे । गाउँघरमा बस्दा अधिकांश समय दलित मुसहर वस्तीमा गुजार्थे । उठबस खानपिन समेत त्यही हुन्थ्यो । र, गरिब दलित बस्तीमा रहेर नयाँ सोच, चिन्तन र विचारसँग प्रेम गर्थे । प्रतिस्पर्धा गर्थे । कि त खोला किनारमा रहेका आश्रममा बिराजमान हुन्थे । आश्रममा पनि काम गर्ने देखि भान्से सम्म दलितको साथमै बिताउने गर्थे । उनी थुप्रै दलितहरुको सहारा पनि थिए । उसको मृत्युुमा अहिले ति दलित वस्तीहरु शोकमा छन् । असल अभिभावक गुमाएकोमा मुर्छित छन् ।
उनी विचारका रुपमा द्वन्दात्मक वैचारिक शक्तिका रुपमा स्थापित थिए । समाजवाद उसको अनुसरण हुँदाहुँदै माक्र्स, लेनिन, माओ, एगेल्स लगायतका कम्युनिस्ट पारखी पनि थिए । अर्थात् हरेक समाजिक राजनीतिक क्षेत्रको ज्ञानबाट निपुण थिए । त्यसैले उसलाई काँग्रेस भित्रका माक्र्सवादी चिन्तकका रुपमा समेत चिनिन्छ । उसको अन्गिन्ती पहिचान र परिचय छन् । किनभने उसको सम्पूर्ण जीवन यिनै अध्ययन अनुभव र अनुसरणमा वितेका थिए । त्यसैले उनी सबैबाट सम्मानित पनि थिए । राजनीतिक हिसाबले काँग्रेसका नेता हुँदा पनि उनी अरु राजनीतिक दल र तिनका नेताहरुको गुरुका रुपमा समेत थिए । उसलाई कसैले पनि काँग्रेसको नेताको रुपमा मात्र स्वीकारेका थिएनन् । सार्वभौम व्यक्तित्वको रुपमा स्थापित थिए । काँग्रेसभित्र गिरीलाई दोस्रो बीपीको रुपमा पनि चिन्ने गर्छन् । उनले सोचेको काँग्रेस कहिले पनि बनेन । त्यसैले काँग्रेसभित्र मात्र नभएर बाहिर पनि एउटा कुशल आलोचकको रुपमा स्थापित थिए । जीवनमा कुनै किसिमको ठूलो लोभ लालच नभएपछि उसले गलतलाई गलत र सत्यलाई सत्य रुपमै वकालत गर्थे । त्यसैले उनीबाट गलत मानिसहरू संधै टाढा रह्न चाहन्थे ।
मुलुकमा काँग्रेसी आन्दोलन हुँदा उनी पाँच वर्षका थिए । उनका सारा परिवार काँग्रेस राजनीतिका हिमायती थिए । त्यसैले बीपी देखि विप्लव सम्म आइपुग्दा नेपालका हरेक राजनीतिक आन्दोलनलाई उनले नजिकबाट नियालेका थिए । विधार्थी जीवनकालमा भारतको राजनीतिक परिवर्तनको आन्दोलनलाई समेत नजिकबाट नियालेका थिए । त्यसैले उनी नेपालको मात्र नभएर भारतको समेत एक कुशल विचारक थिए । राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवहरुको समेत खानी थिए । रामायण देखि महाभारत लगायतका पुरातन ग्रन्थ र इतिहासबाट समेत दिक्षित थिए । नेपाली, मैथिली, भोजपुरी, थारु, अंग्रेजी, हिन्दी, बंगाली, मगर, तामाङ आदि दर्जनौं भाषाका पारखी थिए । उनले हरेक शब्दमा जुनसुकै भाषामा उखान टुक्का, कथा, कहानी, चुट्किला भनेर मानिसलाई मख्ख पार्थे । सम्बोधन गर्न सक्थे ।
काँग्रेसको आन्दोलन देखि एमाले आन्दोलनसम्म, एमाले आन्दोलन देखि माओवादी आन्दोलनसम्म, माओवादी आन्दोलन देखि मधेसवादी आन्दोलन लगायतका विभिन्न आन्दोलनमा उसको प्रत्येक्ष अप्रत्यक्ष रुपमा सहभागीता थियो । उसले परिवर्तनलाई सहज रुपमा स्वीकार्ने व्यक्ति भएको कारण उसको जीवनमा कहिले पनि समाजिक स्तरबाट कुनै किसिमको चुनौती झेल्नुपरेन । त्यसैले समाजवादी व्यक्तिको रुपमा स्थापित थिए । सबैसँग उसको सम्मान व्यवहार थियो ।
मधेसको चमार आन्दोलन लगायतका आन्दोलनमा समेत वैचारिक शिखरता प्रदान गरेका थिए । यसका लागि आफ्नै पार्टीका गलत नेता कार्यकर्ताका विरुद्ध उभिएका पनि थिए । उनले दलित समस्या दलितको समस्या नभएर राज्यको साझा समस्या भएको कारण यसलाई राज्यले नै जिम्मेवार लिएर समाधान गर्नुपर्ने तर्क राख्थे । दलित अधिकार र समस्या गैरदलितहरुले आफ्नो काँधमा बोकेर पुर्खाहरुले गरेको गल्ती कम्जोरीको क्षतिपूर्तिको रुपमा समाधान गर्नुपर्ने बताउँथे । त्यसैले दलित समस्याको नेतृत्व दलितले होइन गैरदलित पक्षले गर्नुपर्नेमा उनको जोड रहँथे । मधेसी, दलित, थारु, आदिवासी, जनजाति लगायतका समस्यालाई राष्ट्रियकरण गरेर यसलाई इतिहासको रुपमा व्यवस्थापनगरी लोकतन्त्रलाई बलियो बनाउन दृष्टि उसमा थियोे ।
ताजा अपडेट
लाेकप्रिय
©2026 All Right Reserved www.gaunagar.com | Powered By Sampurna Media Pvt. Ltd.

