आजकल यदाकदा मिडियामा विप्लव दाइलाई देख्दा÷सुन्दा लाग्छ– उनलाई आफ्नो भावना व्यक्त गर्न बडो सकस भइरहेको छ, मनमा उकुस मुकुस भावना छ र त्यसले परिपक्व विचार र उचित भाषा पाइरहेको छैन । शायद यही नै नियति होला– यतिबेला उनले नेतृत्व गरेको पार्टीको पनि ।
कुरा ०७५ साल मंसिर ८ गते शनिबारको हो । काठमाडौंको प्रदर्शनी मार्गमा कमरेड विप्लव नेतृत्वको नेकपाको विशाल आमसभाको आयोजना थियो । शुरूमा देशभरिका सहभागीहरू कार्यक्रममा ओइरिदै गर्दा देख्नेहरूलाई लाग्थ्यो, तत्कालीन मैमत्त दुईतिहाई सत्ताको खास प्रतिपक्ष त यो पो रहेछ, दशवर्ष सशस्त्र विद्रोहको जीवन्त मूल प्रवाह त यो पो रहेछ ।
तर शायद नेतृत्वले सहभागी जनतालाई कुनै वैचारिक मार्गदर्शन वा आशावादिता प्रदान गर्न सकेन होला । केही घण्टा वित्दा नबित्दै कार्यक्रमबाट फर्कनेहरूको निराशाजनक प्रतिक्रियाले जे संकेत ग¥यो, आज पार्टीको हालत र अवस्था त्यही छ । सो सम्बन्धमा आलोचनाको लागि कोरा आलोचनाबाट मुक्त रहँदै यथार्थलाई जस्ताको तस्तै प्रस्तुत गर्दै, त्यसको कारणसहितको निवारण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
कुनै पनि महान अभियान सञ्चालन गर्न वा ध्येय पुरा गर्नको लागि सबैभन्दा सशक्त माध्यम वा विधि वा संयन्त्र भनेको राजनीति नै हो, जसले योगदान, त्याग र बलिदानको लागि उत्कृष्ट तरिकाले समाजलाई परिचालन गर्न सक्दछ । सोको लागि समाज वा पार्टी आदिको केन्द्रमा रहेको नेतृत्वको विशेष भूमिका हुन्छ, जसमा केही खास खास गुण हुनपर्दछ । ऊ स्वयं अन्योलताबाट मुक्त रही उच्च ध्येयको लागि बलिदानी भावनाका साथ आफ्नो विचार वा बुझाइलाई अत्यन्तै सटिक र सरल भाषामा कलात्मक रूपमा आम जनतासामू प्रस्तुत गर्न सक्षम हुनु पर्दछ ।
यस सन्दर्भमा विप्लव दाइलाई विचार र कलाका सम्बन्धमा केही सुझाव राख्ने अनुमति चाहन्छु ।
विप्लव दाइ, तपाई समाज वा राज्यसञ्चालनमा देखिएका खराबीहरुको बारेमा पात्र विशेषको सस्तो टिप्पणी नगर्नोस् । समाजले तपाईबाट राखेको अपेक्षा भनेको सशक्त र अर्थपूर्ण विकल्पको हो । जसको लागि तपाईमा समाजप्रतिको बुझाइ फरक कुराको आधारमा उच्च प्रकृतिको हुनु आवश्यक छ ।
यो समाज र यसका राजनैतिक, सामाजिक, आर्थिक, सामाजिक अवयवहरूलाई विभिन्न तरिकाले अवलोकन गर्न सकिन्छ । यस सम्बन्धमा नमूना स्वरुप केही कुरा राख्ने अनुमति चाहन्छु ः
पहिलो कुरा– व्यक्तिको स्वत्व अर्थात् प्रकृतिसँग उसको सम्बन्धको कुरा । प्रकृतिलाई नै सर्वेसर्वा मानेर त्यसैको काखमा हुर्कने, प्रकृति वा भूमिमा रमाउने र अनि फेरि अर्को कुनै शक्तिद्वारा विस्थापित हुने स्थिति । विप्लव दाइ, अझै पनि बौद्धिक जगत लगायत नेपाली समाजले तपाईबाट एउटा विकल्पको आशा अझै राखेको छ । कसैको सस्तो आलोचना गर्नुभन्दा पहिले हरेकलाई सोच्न विवश पार्ने प्रश्न तेस्र्राउनोस्— “हाम्रो कोदो, गहूँ फल्ने खेतबारीहरू बाँझो बन्जर बन्दैछ, हामीहरू, युरोप खाडीतिर बरालिदै छौ, एउटा सँगठित पार्टी वा राज्य शक्ति निर्माण गरेर आफ्नो भूमिको उचित व्यवस्थापन गर्ने कि, यहाँको प्राकृतिक तथा मानव संसाधन विदेशी कम्पनीलाई जिम्मा लगाउँदै आफू झन झन विस्थापित हुँदै जाने ?”
दोस्रो– “व्यक्तिको समाजसँगको सम्बन्धको कडीको रूपमा रहेको पाँचवर्षको एकपटक एक व्यक्ति एक भोटको आधारमा शासक चुन्ने परिपाटी नै लोकतन्त्र वा जनवादको अन्तिम सच्चाइ हो त ? एक नागरिक हुनुको नाताले समाजसँगको सम्बन्धमा उसको जीवन मूल्य के हुन्छ ? उसको विवेक तथा समर्पणको मूल्य के हुन्छ ?” लगायतका प्रतिप्रश्नहरू आम पाठकहरूमाथि तेस्र्याएर उनीहरूलाई सो सम्बन्धमा चिन्तनशील बनाउनुहोस् ।
विप्लव दाइ, उपरोक्त प्रश्नहरूले पाठक तथा दर्शकहरूलाई कुनै रेडिमेड वैचारिक खुराक त पस्कदैनन्, तर चिन्तनशील चाहीँ पक्कै बनाउँछन् । उनीहरू चिन्तनशील बन्दा समाज, राजनीति आदिका विषयको गहिराइमा घोत्लिदै जाँदा तपाईभन्दा उत्कृष्ट नेतृत्व यो समाजबाट पैदा हुन्छ भने त्यसलाई स्वागत गर्दै, हौसला दिदै, आफूलाई त्यसको मातहतमा राख्ने महानता तपाईहरूले देखाउनु पर्दछ । नभए आफ्नो नेतृत्व स्थापित गर्ने कुरामा मात्रै केन्द्रित हुँदा राजनैतिक यात्राको गन्तव्य वैज्ञानिक समाजवादतिरको कि अन्धविश्वासी सामान्तवादतिरको ?
स्मरण रहोस्, उपरोक्त प्रकारको प्रति प्रश्नात्मक शैलीलाई ‘सोक्र्याटिक आइरनी’ भनिन्छ, जसलाई प्लेटोले लिपिवद्ध तथा विकास गरेका थिए, जसको कारण प्राचीन ग्रीस समाजका ज्ञानको विकास वा क्रान्ति नै संभव भएको थियो । विप्लव दाइ, तपाईको एकीकृत जनक्रान्ति पनि त्यतिबेला मात्रै संभव हुन्छ, जब आम मानिसहरू चिन्तनशील हुन्छन् । जनमुक्ति सेना नै किन नहोओस, अन्धभक्त अनुयायीहरूको झुण्डले न त क्रान्ति नै गर्न सक्छ, न त प्रतिक्रान्ति नै रोक्न ।
विप्लव दाइ, मैले सुझाव दिन खोजेको दोस्रो कुरा अभिव्यक्तिको कलात्मक पक्षको हो । कला भनेको आफू नहाँसेर अरूलाई हँसाउने, आफू नरोएर अरुलाई रुवाउने क्षमता पनि हो । तर कम्युनिष्ट नेताहरूले आफ्नो मनमा उम्लिरहेको विचारहरूलाई आम दर्शक वा पाठकको मनमा पनि उमाल्नको लागि आफू नै आवेग वा इमोशनमा आइदिने गरेको पाइन्छ । स्मरण रहोस्, भावनाको सिधा सञ्चार हुँदैन । विषयवस्तु त्यही होला, समय तथा घटनाक्रम पनि त्यही होला, तर त्यसको प्रस्तुतिको तरिका अनुसार दर्शक वा श्रोताको मनमा विविध प्रकारकामध्ये आफूले चाहेको भावना वा आवेग सृजना गराउन सकिन्छ । त्यसैले प्रस्तोता वा नेताले आफ्नो व्यक्तित्वलाई सँधै पर्दा पछाडि राखेर स्टेजमा विषय वस्तुको कलात्मक क्रम राख्न जान्नु पर्दछ ।
विप्लव दाइ, अत्यन्तै विनम्रकासाथ निवेदन गर्न चाहन्छु । यदि तपाई नेपाली राजनीतिबाट ज्ञानेन्द्र पारस जस्तै हराउनु छ्रैन र विद्यमान व्यवस्थाको खास विकल्प हुनु छ भने ‘म जनता होइन नेता हुँ’ भन्ने भ्रम कहिल्यै नपाल्नु होला । स्मरण रहोस्, अँग्रेजीमा ‘पर्सन’को बहुबचन ‘पिपुल’ हुन्छ, नेपालीमा ‘नेता’ एक बचन हो भने ‘जनता’ बहुबचन हो । यदि तपाईमा हरेक कुरा स्वेच्छिक निर्णय गर्ने बानी छैन, अरुका पनि कुराहरू सुन्दै मनन गर्दै आफ्ना गल्ती कमजोरीहरू आत्मासात गर्दै आत्मरुपान्तरणको बाटोमा जानुछ भने, ‘म नेपाली जनता’ भन्नमा गर्व गर्नोस्, नेपाली जनताको नेता बन्ने लालचा नराख्नोस् । अर्को शब्दमा भन्नुपर्दा जसमा नयाँ कुरा सिक्ने र आत्मरुपान्तरणसहित जनता बन्न सक्ने नेताको खाँचो छ यतिबेला । सक्नुहुन्छ भने त्यो खाँचो पूरा गरेर देखाउनुहोस् ।
उही तपाईको शुभचिन्तक
सुशील भट्टराई
sbsushilsir@gmail.com
२०७९ साउन ९ गते

