काठमाडौं । छोरी–ज्वाईंले अमेरिका घुम्न बोलाएपछि उदयपुर बेलका नगरपालिका– ९ रामपुर बजारका ५० वर्षीय छत्रबहादुर थापा खुशी हुँदै श्रीमती बिन्दालाई पनि साथ लिएर ३ महिनाअघि उडे ।
उनै छत्रबहादुरले तीन महिनापछि अमेरिकामा आफ्नै परिवारलाई अकल्पनीयरुपले सखाप पारेका छन् । सोमबार बिहान अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीको मान्तुवामा उनले घरभित्रै आफ्नी श्रीमती र छोरीको हत्या गरे । श्रीमती–छोरीलाई खुँडाले हानेर ढालेपछि उनी ज्वाईं सन्तोष कुमार बस्नेतमाथि जाइलागे । त्यतिन्जेलसम्म स्थानीयले प्रहरीलाई खबर गरिसकेका थिए ।
प्रहरी घटनास्थलमा आएर छत्रबहादुरलाई रोक्न खोज्यो । तर, उनी नरोकिएपछि प्रहरीले उनीमाथि नै गोली चलायो । प्रहरीको गोली लागेर छत्रबहादुरको पनि घटनास्थलमै मृत्यु भयो । ज्वाईं सन्तोषको अवस्था गम्भीर छ ।
थापा स्वयम्को उनले किन आफ्नो परिवारलाई सिध्याए भन्ने प्रश्न अनुत्तरित बन्यो । थापाकी जेठी छोरी हुन् ममता । ममता र सन्तोषले आमाबुबालाई घुम्नको लागि अमेरिका बोलाएका थिए । तर विडम्बना आफ्नै पिताबाट मारिइन् ममता । उनका छोरा भने भाग्यवश सुरक्षित छन् ।
स्थानीय स्रोतका अनुसार थापा अमेरिका जानु अघिदेखि नै मानसिक रुपमा विक्षिप्त थिए । उनले १ वर्षदेखि नियमित रुपमा डिप्रेसनको औषधि खाँदै आइरहेको पाइएको बेलका नगरपालिका मेयर अशोक कार्कीले बताए ।
‘उहाँले १ वर्षदेखि डिप्रेसनको औषधि खाइरहनुभएको थियो भन्ने परिवारले बताएका छन् । तर यहाँबाट हाँसीखुसी अमेरिका जानुभएको व्यक्तिले कसरी आफ्नो श्रीमती र छोरीको क्रुर हत्या गर्नुभयो भनेर अचम्भित छौं ।’
कार्कीका अनुसार थापाको श्रीमतीसँग घरायसी विवाद भइरहने भएपनि त्यस्तो ठूलो इस्यु भने थिएन । घटना हुनुअघि श्रीमतीसँग झगडा भएको, रिसैरिसमा खुँडा हानेको र आमालाई बचाउन जाँदा छोरीमाथि पनि प्रहार गरेको सूचना पाएको उनी बताउँछन् ।
कार्कीले भने, ‘ज्वाईं घरबाहिर हिउँ सफा गरिरहेकाले भित्र भएको घटना थाहा पाएनछन् । पछि चिच्याहट सुनेर प्रहरीलाई खबर गरे । भित्र पस्दा सासु र श्रीमती रगताम्य अवस्थामा देखे । ससुराको हातबाट खुँडा खोस्न खोज्दा उनीमाथि जाइलागेको भन्ने खबर पाएका छौं ।’
छत्रबहादुरले यस्तो घटना घटाएको भनेर आफूहरुले पत्याउनै गाह्रो परेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘एकदमै दुखद घटना सुन्नुपर्यो । हामीले अहिलेसम्म सुनेको चाहीँ बुढाबुढीबीच विवाद भएको थियो भन्ने होे ।’
थापाको पुरानो घर बेलका नगरपालिका–३ हो । तर अहिले उनीहरु वडा नम्बर – ९ रामपुर बजारमा २ तलाको घर बनाएर बसिरहेका थिए । बसाईसराई नगरेका कारण उनीहरुको काजपत्र ३ नम्बर वडाबाटै बनाइएको पाइएको छ ।
थापा दम्पत्तिको पासपोर्ट सबै पुरानो वडाबाट बनाइएको वडा नम्बर ३ का वडाध्यक्ष टंक प्रसाद आचार्यले बताए ।
उनले भने, ‘अहिले ९ नम्बर वडामा घर बनाएर बस्नुभएको १५ वर्षजति भयो तर उहाँको परिवारले बसाइसराइ गरेको छैन । त्यसैले सबै काजगपत्र यतैबाट गर्नुहुन्छ ।’
स्थानीयका अनुसार थापा मिलनसार, कसैसँग झैझगडा नगर्ने धेरै नबोल्ने स्वभावका थिए । थापाको ३ सन्तानमध्ये कान्छी छोरी र छोरा उदयपुरमै छन् । थापाले अमेरिका जानुअघि व्यापार–व्यवसाय गर्दै आइरहेका थिए । कहिले कुखुरा पाल्ने त कहिले अन्य व्यवसाय गरिरहेका थिए । पछिल्लो समय डिप्रेसनको औषधि खान थालेदेखि व्यवसायको लय भत्किएको थियो ।
व्यापारमा घाटा भएकै कारण डिप्रेशनमा गएको हुन सक्ने परिवारको आशंका छ । तर हालसम्म ऋणको विषय खासै बाहिर नसुनिएको ९ नम्बर वडाका वडाध्यक्ष भरत घिमिरेले बताए । थापा पहिलोपटक अमेरिका गएका हुन् । बुबाआमा अमेरिका गएपछि कान्छी छोरीले एक महिनाअघि मात्र स्थानीय युवकसँग बिहे गरेकी थिइन् ।
आमाबुबा अमेरिकाबाट नफर्केपछि आफन्त र छरछिमेकले उनलाई पहिलोपटक टिकाटालो गरेर माइतीमा भित्र्याउने तयारी गरेका थिए । कान्छी छोरीलाई माइतीमा भोलि टिकाटालोको गर्ने तयारी थियो । सानोतिनो भतेर समेत राख्ने भनेर छरछिमेकलाई खबर गरिएको थियो ।
घटना हुनुअघिल्लो दिनसम्म पनि छत्रबहादुरले गाउँलेलाई भिडिओ कल गरेर आफ्नो छोरीज्वाईंलाई राम्ररी टिकाटालु गरिदिन आग्रह गरेका थिए । तर दुई दिनअघि त्यस्तो घटना भएपछि उत्सवको माहोल शोकमा बदलिएको छ ।
वडाध्यक्ष घिमिरेका अनुसार छत्र बहादुर गाउँमा मिलन भनेर चिनिन्छन् । पहिले उनी शारीरिकरुपमा हट्टाकट्टा थिए । व्यवसायमा विस्तारै जम्दै गएका उनी एकाएक मानसिक रुपमा विछिप्त भए । उनले १ वर्षदेखि नियमित रुपमा औषधि सेवन गर्न थालेको पाइएको छ । आफ्नै बाबुले आमा र दिदीको हत्या गरेको पत्याउन छोराछोरीलाई गाह्रो परेको वडाध्यक्ष घिमिरेले बताए ।
उनी भन्छन्, ‘बिहेको रौनक भएका घरमा अहिले सन्नाटा छाएको छ । सबैजना यस्तो कसरी भयो भनेर सोचमग्न छन् । हामी शोकमा डुबेका छौं ।’
मनोविद् करुणा कुँवर मानसिक बिरामी विभिन्न परिस्थितिमा आक्रामक बन्न सक्ने बताउँछिन् । परिवारका सदस्यले बेवास्ता गरेमा, औषधि खान छुटेमा पनि बिरामीले अस्वभाविक व्यवहार देखाउने उनको भनाइ छ ।
उनी भन्छिन्, ‘कतिपय अवस्था कडा खालको मानसिक बिरामी भएका व्यक्तिहरुले आफूलाई कसैले प्रयोग गरेको शब्दहरुले आहत भएर, नियमित रुपमा औषधि सेवन नगरेमा वा विवादहरुको कारण पनि एक्कासी आफूलाई सिध्याउने र अरुलाई पनि सिध्याउने गरेको पाइएको छ ।’

