वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
मधेसी पहाडी विभेदको नाममा उपेन्द्र यादवले लुटे
Prabhu Bank AD

मलाई लागेको थियो कि अध्यक्ष उपेन्द्र यादवजीले हिजोको बैठकमा चारजना मन्त्रीको कामको विषयमा ब्रिफिङ गर्नु हुन्छ होला । कुनै पनि व्यक्ति सार्वजनिक पदमा जाँदा त्यसको समीक्षा हुनु आवश्यक हुन्छ । उसले त्यहाँ गएर के के ग¥यो, त्यो कुरा जनता समक्ष आउनु पर्छ । म मन्त्रीमा बहाली हुँदा देशभरका सडकको अवस्था जर्जर थियो । १० वर्ष पुराना सडकहरुको अवस्था जर्जर भएको थियो, त्यसमा पक्की सडक बनाउने काम अगाडि बढेको छ । सिन्धुली सडकलाई हेर्नुस्, वीरगञ्जको हाइ–वे हेर्नुस् ।

अध्यक्षज्यू, जनताको काम हुनैपर्छ भनेर अरोरात्र खटेर कामहरुलाई अगाडि बढाएको थिएँ । धेरै कामले पूर्णता पनि पाएका छन्, केही कामको पूर्णता हुन बाँकी छ । चालु आर्थिक वर्षमा राष्ट्रिय राजमार्गका लागि ४५ करोड रुपैयाँमात्र बजेट थियो । अध्यक्ष (उपेन्द्र यादव) जी, तपाईले यो कुरा थाहा पाउन एकदमै जरुरी छ किनभने तपाई चुनावी भाषणमा जानुहुन्छ । यसपटकको बजेटमा मैले एक अर्ब ४५ करोड रुपँयाँ राखेको छु । मन्त्रालयमा मैले रेडबुक पल्टाएर हेर्दा मधेसको विकासको अवस्था जर्जर थियो । थुप्रै सडकमा धुलो उडिरहेको थयो । मधेसका विभिन्न ठाउँमा फोर लाइनको सडक बनाउन बजेट राखेको छु ।

चन्द्रपुर–गौरमा ४० किलोमिटरको फोर लाइन सडक बनाउन प्रमाणीकरण गरेर बजेट राखेको छु । यसलाई तपाईहरु चुनावमा भाषण बनाउनु होला । त्यस्तै, नवलपुर–मलंगवा–सोनवर्षा ३० किलोमिटर रोडका लागि मैले १५ करोड रुपैयाँ बजेट राखेर योजनालाई अगाडि बढाएको छु । त्यहाँ वर्षौँदेखि बजेट थिएन । सिरहा–माडर सडकलाई फोर लाइनको बनाउनका लागि ३० करोड रुपैयाँ बजेट राखेर त्यो योजनालाई पनि अगाडि बढाएको छु । रुपनी–राजविराज जहाँ अध्यक्ष (उपेन्द्र) जीको क्षेत्र हो, त्यहाँ त्यो सडकका लागि फोर लाइन बनाउन अध्यक्षजीबाटै शिलान्यास गराएर अगाडि बढाएको छु ।

सहायक राजमार्गका लागि विगतमा चार अर्ब ५१ करोड रुपैयाँ बजेट छुट्याइन्थ्यो । मैले त्यसलाई पाँच अर्ब २८ करोड रुपैयाँ बनाएको छु । पहिले सहायक राजमार्गमा २२८ वटा सडकमात्र थियो । मैले ८०३ पु¥याएको छु । मैले के खराबी गरेको छु ? के यो काम खराब हो ? मैले दिनरात काम गरेको छु । मलाई प्रेसर थिएन, प्रेसर भयो अध्यक्षजी । कहाँ २२८ सहायक राजमार्ग, कहाँ ८०३ सहायक राजमार्ग ! यतिको फरक परेको छ । यसलाई तपाईहरुले चुनावमा प्रचार गर्नुहोला ।

मधेस प्रदेशमा यसअघि भौतिकमा ३० करोडको मात्र बजेट हुन्थ्यो । मैले त्यसलाई बढाएर एक अर्ब ५० करोड पु¥याएको छु । विगतमा एकसय किलोमिटर सडक कालोपत्र गर्ने योजना हुन्थ्यो, मैले त्यसलाई १५ सय किलोमिटर पु¥याएको छु । हुलाकी सडक निर्माण द्रुत गतिमा अगाडि बढेको छ । अध्यक्षज्यूको समक्ष माननीय सांसदहरुको निकै गुनासो जाने गरेको छ तर म मन्त्री भएपछि आफूले गरेको कामको बारेमा हरेक १५ दिनमा अधयक्षज्यूलाई ब्रिफिङ गर्थेँ । मैले यो यो काम गरेँ, फलानो काम अगाडि बढेको छ, फलानो काममा बाधा भइरहेको छ लगायत हरेक कुरा मैले अधयक्षज्यूलाई जानकारी गराउँदै आइरहेको थिएँ ।

मन्त्री छाड्नुभन्दा एक दिन पहिले पनि अध्यक्षज्यूलाई मैले आफूले गरेको कामको बारेमा जानकारी गराएको थिएँ । सहायक राजमार्ग अर्थ मन्त्रालयले प्रदेशलाई दिन खोजेको थियो । मैले त्यसमा अडान लिएँ । अध्यक्षज्यूसहित प्रचण्डलगायतका नेताहरुको बीचमा मैले यो कुरा राखेर त्यसलाई रोक्न लगाएको थिएँ । राजमार्ग निर्माण गर्ने हैसियत प्रदेश सरकारको छैन । मलाई माधवकुमार नेपालबाट दबाब थियो, प्रधानमन्त्री देउवाबाट दबाब थियो । मलाई प्रचण्डबाट दबाब थियो तर मैले यो कुरा अध्यक्षजीलाई कहिल्यै पनि भनेको थिइनँ । पाँच वर्षमा प्रदेश सरकारले के ग¥यो, त्यसको हिसाब छैन । त्यहाँका मन्त्री, सांसदले के के गर्नुभयो त्यसको कुनै हिसाब छैन तर मैले हरेक सांसदको मन राख्नका लागि केही केही योजना सबैको राखेको छु ।

जुनजुन सांसद तथा नेता मेरो सम्पर्कमा आउनुभयो, ती सबैका लागि केही न केही योजना मैले राखेको छु । यदि सबै सडक बने भने इतिहासमा यस्तो कहिल्यै भएको थिएन र भविष्यमा पनि यस्तो हुँदैन । माननीय रामबाबु यादव, प्रमोद साह, रामसहाय यादवलगायत प्रदीप यादव, हरिनारायण रौनियार जति सांसदहरु हुनुहुन्छ मैले सबैका लागि केही केही योजना राखेको छु । बारामा १५ देखि २५ वटा सडक योजना राखेको छु । रौतहटमा पनि २० भन्दा बढी योजना राखेको छु । पर्सामा पनि प्रदीप यादव र रौनियारजीले भनेको अनुसार योजना राखिदिएको छु ।

मेरो कामको एमाले र काँग्रेसका नेताहरुले प्रशंसा गरिरहेका थिए । म निकै प्रफुल्लित थिएँ । अझै काम गर्ने हौसला बढिरहेको थियो । सर्लाहीका अशोक यादवले आफ्नो प्रदेशमा के के गर्नुभयो, आफ्नो क्षेत्रमा के के गर्नुभयो थाहा छैन तर उहाँले भनेअनुसार पनि योजनाहरु राखिदिएको छु । उहाँले ललितपुरमा घर किन्नुभएको छ । त्यो घर नजिक सडक थिएन । मलाई उहाँले भन्न आउनु भयो । मैले त्यहाँ घरनजिकबाट सकड बनाउन लगाइदिएँ । तैपनि उहाँले मलाई यस्तो गाली गर्नुभयो, त्यो जीवनमा मैले कहिल्यै बिर्सिन्न ।

मैले सांसद हरि रौनियारको एउटा पुललाई ब्ल्याक लिस्टमा राखेको छु । उहाँ यहीँ हुनुहुन्छ । उहाँलाई तकलिफ भएको होला । तर तकलिफ नगर्नु होला । जनताका लागि यो सबै गर्नुप¥यो । कमला पुल मधेसको लाइफलाइन हो । त्यो अहिले भत्किएको छ । त्यो पुल यदि बनेन भने त्यसको सबै दोष रौनियारलाई नै जान्छ ।

अध्यक्षजी (उपेन्द्र यादव) को क्षेत्रमा त मैले गल्लीगल्लीमा सडक बनाईदिएको छु । प्रदेशमा सोही क्षेत्रका मन्त्री पनि छन् । उपेन्द्र यादवले नै मन्त्री बनाउनु भएको छ तर उहाँले एउटा पनि सडक उपेन्द्र यादवबाट शिलान्यास गराउन सक्नुभएको छैन ।

स्थानीय चुनाव

स्थानीय चुनावको समीक्षा अवश्य हुनुपर्छ । अहिले समीक्षा भएन भने आउने चुनावमा जसले अन्तर्घात ग¥यो, त्यसमाथि अर्को अन्तर्घात हुनसक्छ । त्यसैले अहिले नै त्यसको समीक्षा हुनु जरुरी छ । टिकट वितरणमा मैले धाँधली गरेको आरोप पनि लाग्यो । एकजना केन्द्रीय सदस्यले त यतिसम्म भन्नुभयो कि यही सब गरेर रेणु यादवको गुजारा चल्छ । मलाई निकै दुःख लागेको थियो । टिकट वितरण गर्ने सर्कुलरमा नै लेखिएको थियो– जहाँ विवाद हुन्छ, त्यो विवाद एक तह माथिकाले टुङ्गो लगाउनेछ । तर त्यो अनुसार भएन ।

जो केन्द्रीय सदस्य हुनुहुन्छ, कसैले पनि आफ्नो गाउँमा टिकट वितरण गर्न पाएनन् । स्थानीय नेता तथा केन्द्रीय सदस्यसँगको सल्लाहमा टिकट वितरण गर्ने सहमति थियो तर त्यस्तो कहीँ भएन ।

मैले एकदिन पहिले टिकट लिएर बर्दिवास गएँ । त्यहाँ जिल्ला तथा प्रदेशका थुप्रै साथीलाई खबर गरेर बोलाएका थिए । मैले धेरैजनालाई फोन गरेर सोधेँ, टिकट लिएर कहाँ आउने ? कसैले पार्टी कार्यालयमा आउन भने, कसैले घरमै आउन भने । कृषि मन्त्री विजय यादव, अर्थ मन्त्री शैलेन्द्र साहसँग भेट भयो । मैले भनेँ– टिकट आइसकेको छ, त्यसलाई कसरी वितरण गर्ने ? कुन जिल्लाबाट सुरु गर्ने ?

जहाँ जहाँ समस्या छैन त्यहाँ त्यहाँ वितरण गर्दै जाउँ पनि भनेँ । उहाँहरुले मसँग टिकट छैन भने कसरी वितरण गर्ने भन्नुभयो । उहाँहरुको चाहना थियो कि टिकट हातमै आओस् । उहाँहरुको योजना नै थियो कि टिकट आफ्नो हातमा लिने ।

मैले अध्यक्षजीलाई फोन गरेर भनेँ– उहाँहरुले टिकट वितरण गर्न मान्नु भएको छैन, म के गरौैं ? अध्यक्षजीले पनि सहमति बनाएर वितरण गर्ने प्रयास गर्नुस् भन्नुभयो ।

मैले जिल्लाका अध्यक्षहरुलाई फोन गरेर बोलाएँ । जनकपुरमा कार्यकारिणी समितिको बैठक बस्यो । मैले रौतहटबाट टिकट वितरण सुरु गरेँ । नेताहरुले आ–आफ्नो तरिकाले टिकट बुझ्न थाले । सकभर भर्पाइ लिएर टिकट दिइरहेका थिए । टिकट वितरणमा निकै विवाद भइरहेको थियो । महोत्तरी, सर्लाहीलगायतका जिल्लाको टिकट वितरण भयो । धनुषामा अध्यक्षजीले भनेको आधारमै टिकट वितरण गरेको थिएँ । केही टिकट बाँकी रह्यो, त्यो टिकट पशुपति यादवको हातमा दिइसकेको थिएँ ।

सिरहामा टिकट वितरण गर्न गएँ । त्यहाँ शत्रुधन कोइरी, राजु गुप्ता, सुरेश मण्डल हुनुहुन्थ्यो । त्यहाँ विजय यादव र राजकिशोर यादव थिएनन् । मैले जिल्ला अध्यक्षलाई टिकट दिएँ । राजकिशोरले ३०० टिकट माग गर्नुभएको थियो तर दिइएन । राजकिशोर हामीसँग रहे पनि नरहे पनि उहाँमाथि निकै अन्याय भएको हो । विजय यादवले ३० वटा टिकट लिएर जानु भयो । केही खोसाखोस नै भयो त्यहाँ ।

सप्तरीको सबै टिकट शैलेन्द्र साह र शम्भु झाले लिनुभएको थियो । मैले सप्तरीका तीन टिकटमात्र लिएर दिएको थिएँ । अध्यक्षजीले निर्देशन दिएअनुसार नै सबै टिकट वितरण गरेँ । तर ममाथि टिकट बेचेको आरोप लगाईयो । मैले टिकट बेचेर खाने अवस्था छैन । मेरो यस्तो अवस्था छ कि पाँच पुस्ता बसेर खाए पनि पुग्छ । टिकट बेचेर खाने मेरो दिन आएको छैन । पार्टीमा भएका कतिपय नेताहरुका कसैको भतिजा, कसैको बुहारी, कसैको भाइ कमल छापबाट चुनाव लडेका थिए र ती नेताहरुले छाता छापका लागि भोट मागेको थिएनन् । मैले पार्टीप्रति बफादार भएर टिकट वितरण गरेको छु ।

कसले फोड्यो पार्टी ?

तपाईँहरुले हिजो बाबुराम र महेन्द्र राय यादवको बारेमा निकै आलोचना गर्नुभयो । के उहाँ दुई जनाले मात्र पार्टी विभाजन गर्नुभएको हो त ? पार्टी फुटाउनका लागि गरिएको हस्ताक्षरको फोटोकपी मसँग छ । पार्टी फोड्नका लागि क–कसले हस्ताक्षर गरेका थिए, त्यसको हस्ताक्षर मसँग छ । त्यसमा ६ जनाले हस्ताक्षर गरेका छन् । केही नेता आफूलाई तेजतर्रार देखाएर केही महिला सांसदलाई बलिको बोका बनाइएको छ । अध्यक्षजी ! अहिले जसरी घुर्की देखाएपछि मन्त्रीहरु परिवर्तन भयो, के त्यसैगरी फेरि परिवर्तन गर्नुहुन्छ त ? ६ जनाले हस्ताक्षर गरेका छन् तर तपाईहरुले सिर्फ बाबुराम र महेन्द्र रायलाई आरोप लगाउनु भएको छ । म यो हस्ताक्षर लिएर चुनावमा जान्छु ।

संसदमा विधेयक पेस गर्ने कुरा थियो । मन्त्री फिर्ता भएको दिन आठ बजे मलाई अध्यक्षजीको फोन आउँछ कि तपाईलाई सरकारबाट फिर्ता बोलाइएको छ । तपाईहरुलाई जब मन लाग्यो मन्त्री पठाइदिने, जब मन लाग्यो फिर्ता बोलाइदिने ! यस्तो कहीँ हुन्छ ? के हामी पार्टीको हरवा चरवा हो ? पार्टी क–कसले फोरिरहेका थिए, त्यसको विश्लेषण किन भएन ? पार्टीले मलाई सरकारबाट फिर्ता बोलाएको छ, त्यसमा मलाई रत्तिभर दुःख छैन । तर विधि मिलेन । समावेसीको कुरा तपाईले गर्ने तर महिलालाई मन्त्रीबाट फिर्ता बोलाउनुभयो, त्यहाँ महिला नै किन राख्नु भएन ?

तपाई सरकारबाट मन्त्री फिर्ता बोलाउँदा तीन जनालाई मात्र किन ? चारै जनालाई किन फिर्ता बोलाउनु भएन ? कहिले बाबुरामको मान्छे मन्त्री र राजदूत बन्छन्, कहिले अशोक राईका मान्छे मन्त्री र राजदूत बन्छन् तर के मधेसीले यहाँ भोटमात्र दिन आएको हो त ? राजेन्द्र श्रेष्ठको वुद्धि विवेकमाथि कुनै प्रश्न उठाउदिनँ, उहाँ निकै वुद्धिमान हुनुहुन्छ । संघीयतलाई बचाउनु थियो, त्यही भएर उहाँलाई मन्त्रीबाट फिर्ता नबोलाएको अध्यक्षजीले प्रतिकृया दिनुभएको थियो । मलाई खुशी लाग्यो, कमसे कम एकजना विद्वान त हाम्रो पार्टीमा छन् । उहाँले संघीयता बचाउन बहस गर्नुहुन्छ, हामी मधेसी सबै थपडी बजाएर बस्छौं ।

तपाई (उपेन्द्र यादव)ले आफूलाई लाई के सम्झनु भएको छ ? मधेसमा विभेदको पाठ पढाएर मधेसलाई बलिको बोका कहिलेसम्म बनाउनु हुन्छ ? कतिपयलाई लागेको होला, रेणु यादव मन्त्रीबाट हटेको कारण बौखलाहटमा यस्तो बोलिरहेकी छ तर होइन, म तीन पटक मन्त्री भइसकेको छु । यही पार्टीबाट दुई पटक मन्त्री बनेको छु । कसैको दाया, मायाले होइन, आफ्नो बलबुताले बनेको हुँ । पार्टीले मलाई मन्त्री बनाएकोमा म पार्टीप्रति अभारी छु । बिना जानकारी मन्त्री फिर्ता बोलाउनु हुन्छ, के मधेसीलाई नालायक बनाउनका लागि ६ महिनाका लागि मन्त्री बनाउनु भएको थियो ? के तपाईको नजरमा मधेसी नालायक हुन् ? तपाईले चारै जनालाई मन्त्रीबाट किन फिर्ता बोलाउनु भएन ? त्यसको जवाफ तपाईले दिनुपर्छ अध्यक्षज्यू ।

(जसपाले मन्त्रीबाट हटाइसकेपछि वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकको बन्दसत्रमा रेणु यादवले राखेको विचारको सम्पादित अंश ।)

Prabhu Bank AD

सम्बन्धित खवर