राजेश विद्रोही
कान्तिपुरमा मिटरब्याज र बलात्कार सम्बन्धि समाचार पढें । बडो दु:खद लाग्यो । यसलाई जति व्याख्या विश्लेषण गरेपनि अपुरै हुन्छ । किनभने हाम्रो समाजमा अझै पनि यस्ता घटनाहरु थुप्रै छन् । जो सतहमा आउन सकेको छैन् । दबिएका र दबाइएका छन् । सूर्यमान र सुजा त उदाहरण पात्र मात्र हुन् । जो बीचबीचमा विष्फोट भइरहेका हुन्छन् । समाजमा यस्ता अनगिन्ती सूर्यमान र सुजाहरु छन्, जसबाट समाज उन्मुक्ति चाहन्छन् । तर उनीहरू सबैसँग विद्रोह गर्ने चेत र साहस छैन् । उनीहरूको चेतना परम्परागत बन्धकमा परेकाछन् ।
मिटरब्याजको समस्या, बैंक, लघुवित र सहकारीको समस्या यतिबेला गाउँदेखि सहरसम्म क्यान्सर जस्तै फैलिएको छ । सानो ठूलो रुपमा हरेक घरपरिवार यो समस्याबाट ग्रसित छन् । यतिबेला यिनै कारण समाजमा आर्थिक लेनदेनको बीचमा ठूलो खाडल परेको छ । यो राज्यव्यवस्था र प्रणालीकै दुश्चक्र हो जस्तो लाग्छ । अहिले पनि सरकारले विना विकल्प ल्याएको ऐनले समस्याको समाधान गर्छ जस्तो लाग्दैन । कुनै पनि समस्याको समाधान भनेको त्यसको वैकल्पिक व्यवस्थापन नै हो । सरकारले बिरामीलाई प्राथमिक उपचार मात्र गरेको देखिन्छ । बिरामीको रोग निर्मूल हुनेगरी उपचार गरेको देखिदैन ।
जनताको तागतको बलमा आज लोकतन्त्र आयो । र, सुर्यमान र सुजाहरु सतहमा देखिन थालेकाछन् । यो लोकतन्त्रकै ठूलो उपलब्धि हो । किनभने मिटरब्याज समस्या आजको समस्या होइन । यो समाजिक परम्परागत समस्या नै हो । फरक यति हो, हिजो जुन रुपमा थियो । आज त्यो रुपमा छैन् । अर्कै रुपमा विकास भएर आएको छ । यसमा राज्यका हरेक मानिसहरू संलग्न छन् । लोकतन्त्र छ, सबै कुरा दबाउन सकिदैन । दबाउन पनि सम्भव छैन । तर बानी त त्यही पुरानै हो । दबाउन कोशिस हुन्छ । तर क्षणिक दबाउन सकिन्छ । अन्ततः विष्फोट नै हुन्छ । हिजो निरंकुशता थियो, हरेक कुरा दबाउन सकिन्थ्यो । सोंचेअनुसार दमन शोषण र उत्पीडन गर्न सकिन्थ्यो । मान्छेको शारीरिक, मान्सिक, समाजिक र आर्थिक रुपमा बन्धक बनाउन सकिन्थ्यो । विद्रोही चेतको अवसान हुन्थ्यो । दासत्व चेतको मात्र जीवन हुन्थ्यो । आज त्यो अवस्था छैन । सामान्यभन्दा सामान्य मानिसको चेत दिनानुदिन लोकतन्त्रले लेस गर्दैछन् ।
त्यसैले पंक्तिकार मिटरब्याजको बहुआयामिक पक्षबारे पटकपटक लेख्दै आएका छन् । यसको समाधान पनि सोही स्तरमा हुन जरुरी छ । नभए यो समस्याको समाधान हुन सक्दैन । किनभने समाजमा अझै अनगिन्ती सूर्यमान र सुजाहरु छन् । जो मिटरब्याजको समस्या मात्र होइन । अपराधकै समस्या हो । त्यसैले हामी अपराधको उपचार गरौं । राज्यले दीर्घकालीन समाधान दिनुपर्छ । सर्वसाधारण नागरिकको हातमा वितीय पहुँच दिनुपर्छ । यसरी मात्र समस्याको समाधान हुन सक्दैन । यसका लागि राज्यले आफ्नो संरचनागत प्रणालीमै ठूलो क्रान्ति छेड्नुपर्ने हुन्छ । जुनदिन यो समाजमा सूर्यमान र सुजाको बारेमा राम्रो दखल राख्ने विद्रोह चेतको बिकास हुन्छ । र, राज्यले त्यो विद्रोह चेत दिने खालको राज्य प्रणालीमा विकास गर्छन् । त्यो दिन यो समाजमा सुजाहरु जन्मिने छैन् । र, सूर्यमानहरुको अवसान पनि सुनिश्चित छ ।

