तिङ काङ
बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गरेको एक वर्षपछि संरा अमेरिकाले गत फेब्रुअरी ११ मा बहुप्रतिक्षीय हिन्द–प्रशान्त रणनीतिको नयाँ संस्करण सार्वजनिक गरेको छ । त्यो रणनीतिक प्रतिवेदन वास्तवमा विषमा डुबाइएको प्रतिवेदनजस्तो छ ।
सो संरा अमेरिकी हिन्द–प्रशान्त रणनीतिमा राष्ट्रपति बाइडेनले सन् २०२१ को सेप्टेम्बर २४ को दिन संरा अमेरिका, जापान, भारत र अस्टे«लिया सम्मिलित चारपक्षीय सुरक्षा संवाद (क्युएसडी) का नेताहरूको प्रथम शिखर सम्मेलनमा दिएको भाषण उद्धृत गरिएको छ । त्यतिबेला उनले भनेका थिए, “हामी सबै देशहरूको भविष्य र वास्तवमा भन्नुपर्दा सिङ्गो संसारको भविष्य स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्र कति लामो समयसम्म टिक्न सक्छ र प्रवद्र्धन हुन्छ भन्ने कुरामा निर्भर रहन्छ ।” यो तर्क हिन्द–प्रशान्त रणनीतिको औचित्य पुष्टि गर्न मनग्य छैन । बरु यो त संरा अमेरिकाले आफूलाई उँचो देखाउने उसको पुरानै शैलीको निरन्तरताजस्तो देखिन्छ ।
एसिया–प्रशान्त क्षेत्रको विकासले संसारको भविष्यमा निर्णायक प्रभाव पार्ने बाइडेनको कुरा सही हो । तर, हालै सार्वजनिक संरा अमेरिकाको सो रणनीतिक प्रतिवेदनले एसिया–प्रशान्त क्षेत्र किन त्यत्ति महत्वपूर्ण भयो र बितेका तीन–चार दशकमा सो क्षेत्रले कसरी आफ्नो महत्व स्थापना गर्न सक्यो भन्नेबारे केही पनि बोलेको छैन ।
एसिया–प्रशान्त क्षेत्रको विकासको निम्ति चीन नै नेतृत्वदायी शक्ति भएको कुरा उल्लेख नगरी सुखै छैन ।
वासिङ्टनले जोड दिने गरेको ‘शीतयुद्धकालीन युगको रणनीतिक सन्तुलन’ बाट एसिया–प्रशान्त क्षेत्र निकै अघि बढिसकेको कुरा उसले बिर्सेजस्तो छ ।
एसिया–प्रशान्त क्षेत्रमा स्थायित्व कायम गर्न संरा अमेरिकाले लामो समयदेखि योगदान गर्दै आएको कुरा हामीले अस्वीकार्न गर्न सक्दैनौँ । तर, अहिले समय बदलिसकेको छ । चार वर्षअघि संयुक्त राष्ट्र सङ्घले विश्व आर्थिक अवस्था र सम्भावना, २०१८ प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसमा संसारको आर्थिक वृद्धि दर बलियो हुँदै जाने र त्यसमा पनि पूर्वी र दक्षिण एसियाको अर्थतन्त्र संसारकै सबभन्दा गतिशील हुने उल्लेख छ । सन् २०१७ मा संसारको अर्थतन्त्रमा चीनको योगदान एकतिहाइ पुगेको पृष्ठभूमिमा राष्ट्र सङ्घको प्रतिवेदनमा यस्तो भविष्यवाणी गरिएको थियो ।
एसिया–प्रशान्त क्षेत्रका देशहरूले पछिल्ला वर्षहरूमा आपसमा आन्तरिक सहकार्य बढाउँदै लगेका छन् । विशेषतः उनीहरूले उद्योग, व्यापार र आपूर्ति प्रणालीमा आपसी अन्तरसम्बन्धलाई बलियो बनाएका छन् । चीनको शान्तिपूर्ण विकासको हिस्सेदारी उनीहरूले पनि अनुभव गरिरहेका छन् । संरा अमेरिकाले भने उनीहरूलाई त्यस्तो केही प्रतिफल दिएको छैन ।
सन् २०२० मा सुरु भएको कोभिड–१९ महामारीले एसियाली कलकारखानाका केही उत्पादन सञ्जाललाई प्रभावित बनाएको छ । तर, त्यसले विश्वभरको उत्पादनको केन्द्रको रूपमा एसियाको स्थानलाई अरूले हडप्न सकेको छैन । एसियाको यो बलियो अवस्था कायम राख्न संरा अमेरिका, जापान वा एसियाका अन्य देशहरूभन्दा बढी चीनको भूमिका भएको सन् २०२१ को एसियाली आर्थिक सम्भावना र सम्मिलन प्रक्रियासम्बन्धी वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
व्यापारको आकारको हिसाबमा एसियाकै सबभन्दा उच्च २२ भागमध्ये १८ भाग मुख्यतः चीनमाथि निर्भर छन् । महामारीपछि एसियाली कलकारखानाले संसारको आर्थिक पुनःस्थापनामा नेतृत्व गर्नेछ ।
बेल्ट एन्ड रोड परियोजनाजस्ता मञ्चमार्फत क्षेत्रीय अर्थतन्त्रमा सार्वजनिक वस्तु आपूर्ति गर्ने चीनको अग्रसरता र उसको चुस्त विकासले एसिया–प्रशान्त क्षेत्रको बलियो आर्थिक विकासलाई आधार प्रधान गरेको छ । एसिया–प्रशान्त क्षेत्रको बृहत् विकासको मूल सूत्र नै प्रमुख शक्तिको रूपमा रहेको चीनसँग कसरी आर्थिक र व्यापारिक सम्बन्ध थप गहिरो बनाउने भन्ने प्रश्नमा निर्भर रहनेछ ।
संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिले चीनसँग प्रतिसन्तुलनको लागि केही देशलाई आफ्नो पछि लगाउने लक्ष्य राखेको छ । अनि उसले चीनविरुद्ध घेराबन्दी गर्ने माध्यमको रूपमा मोर्चा बनाउन खोजिरहेको छ । त्यसो गर्नु त खास कसैको खुट्टामुनिको कपडा तान्नुजस्तै हुनेछ । जसले क्षेत्रीय विकासको सम्भावनालाई खाल्डोमा पुरिदिनेछ । संरा अमेरिकी सेनालाई बलियो बनाउनुले एसिया–प्रशान्त क्षेत्रलाई अझ ठूलो जालमा फसाउनु हुनेछ ।
पछिल्लो हिन्द–प्रशान्त रणनीतिले एसिया–प्रशान्त क्षेत्रमा संरा अमेरिकाका प्रमुख पाँच लक्ष्य निर्धारण गरेको छ । जसअन्तर्गत ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्र’ अघि बढाउने, सो क्षेत्रभित्र र बाहिर पनि सम्पर्क विस्तार गर्ने, क्षेत्रीय समृद्धि हासिल गर्ने, हिन्द–प्रशान्त सुरक्षालाई बलियो बनाउने र अन्तरदेशीय समस्याले क्षेत्रीय एकतालाई प्रभावित नगर्ने आदि छन् ।
ती पाँचै लक्ष्य महत्वाकाङ्क्षी र आकर्षक छन् । तर, चीनलाई शत्रु करार गर्ने यो रणनीतिले यी उपलब्धि हासिल गर्नसक्ला त ? कुरा प्रस्ट छ, जब कसैले चीनलाई आफ्नो शत्रु ठान्छ, उसलाई पनि चीनले शत्रु ठान्ने छ ।
जब संरा अमेरिकाले आफ्नो रणनीतिमार्फत चीनलाई निशाना बनाउँछ, चीनलाई शत्रु ठान्छ, एसिया–प्रशान्त क्षेत्रका देशहरूबीच विषवमन गर्छ र एसिया–प्रशान्त क्षेत्रको शान्तिपूर्ण विकासको लागि भूमिगत विस्फोटक र टाइम बमहरू थाप्छ, त्यसको सहज परिणाम भनेको एसिया–प्रशान्त क्षेत्रको शान्ति, सुरक्षा र स्थायी विकासको सम्भावनालाई अन्त्य गर्छ ।
(लेखक पिपुल्स डेलीका वरिष्ठ सम्पादक हुन् ।) द ग्लोबल टाइम्सबाट नेपालीमा अनुदित सामग्री

