इतिहासमा विभिन्न घडिहरुमा थरि–थरिका सामाजिक सिद्धान्तहरु देखापरेका छन् । ती सिद्धान्तहरुको बारेमा विचार गर्दा हामी कुन कुरा पाउँछौ भने सामाजिक सिद्धान्तको रुपमा माक्र्सवाद र अन्य सामाजिक सिद्धान्तहरुका माझ एक गहन, आधारभूत भिन्नता छ । यो भिन्नता यी सिद्धान्तहरुको ऐतिहासिक भाग्यसित सम्बन्धित छ । माक्र्सवाद–पूर्वका जति पनि सामाजिक सिद्धान्तहरु छन् तिनिहरुको भाग्य एकै किसिमको पाइएको छ । तिनिहरुको ऐतिहासिक भाग्य कस्तो रहेको छ भने सामाजिक विकासको क्रममा तिनीहरुको प्रभाव लगातार घट्दै जाने गर्दछ । तीमध्ये कुनैले केही समयका लागि विशाल तथा व्यापक प्रभाव पनि पारेका थिए, तर समयको क्रममा, सामाजिक विकासको सिलसिलामा सो प्रभाव घट्दै गयो । त्यसको मुख्य कारण के हो भने ती सिद्धान्तहरु मूलत: अवैज्ञानिक थिए र विकासको क्रममा तिनीहरुको अवैज्ञानिकता स्पस्ट हुँदै गयो । माक्र्सवादको ऐतिहासिक भाग्य तिनीहरुको भाग्यभन्दा एकदमै भिन्न र विपरीत रहेको छ । व्यवहार र जीवनले हामीलाई निकै स्पस्टसित कुन कुरा देखाएको छ भने माक्र्सवाद एउटा यस्तो सिद्धान्त हो, जसको प्रभाव सामाजिक विकासको क्रममा, समयको गतिसँगसँगै निरन्तर बढ्दो छ । प्रत्येक नयाँ ऐतिहासिक मोडेल, प्रत्येक युगान्तकारी घटनाले त्यसको प्रभावको वृद्धिमा नयाँ आयामहरु थप्ने गरेको छ । माक्र्सवादको उपयुक्त खास विशेषता एक सुस्पष्ट तथ्यको रुपमा सबैको सामु छ । सो विशेषतालाई लेनिनले निम्न रुपमा देखाउनुभएको छ :
“माक्र्सवादको उत्पतिदेखिन् विश्व इतिहासका तीन ठूला अवधिहरुमध्ये प्रत्येकले माक्र्सवादको पक्षमा नयाँ विजयहरु ल्याएको छ । तर इतिहासको आउँदो अवधिमा, सर्वहारावर्गको सिद्धान्तको रुपमा माक्र्सवादलाई झन ठूलो विजयले सुशोभित पार्नेछ ।”
लेनिनको उपयुक्त भविष्यवाणी वास्तविक सत्य सावित हुँदै गएको तथ्य सुविदित छ । माक्र्सवादको मार्गदर्शनमा भएका महान्, सफल क्रान्तिहरु (उदाहरणार्थ, अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ जनक्रान्ति) त्यसका चहकिला प्रमाण हुन् । विश्व राजनीतिक चाख राख्ने जोसुकैलाई थाहा भएको कुरा के भने माक्र्सवाद समयष्को परिक्षामा राम्रैसित उत्तीर्ण भइसकेको सिद्धान्त हो, अनेर्कौँ अवसरहरुमा, इति हतिहासका अनेकाँै मोड तथा घुम्तिहरुमा उत्पन्न भएका जटिलतम तथा कठिनतम समस्याहरुको उचित समाधान माक्र्सवादले प्रस्तुत गरेको छ, र यसरी त्यसले निर्देशक सिद्धान्तको गहन भूमिका निभाउन आफू पुरै योग्य तथा सक्षम रहेको कुरा साबित गरेको छ । इतिहाससिद्ध तथ्य के छ भने माक्र्सवाद शोषण तथा थिचोमिचोबाट मानव जातिको मुक्तिको लागि र नयाँ वर्गहीन विश्वको निर्माणको लागि संर्घर्षमा अति प्रभावकारी र अचुक बैद्धिक अस्त्र हो । पार्टीको रुपमा सङ्गठित सचेत सर्वहारावर्गको हातमा परेपछि, त्यसले जनमुक्ति संघर्षको पक्षमा शानदार विजयहरु ल्याउन सक्छ र साँच्चिकै चमत्कारपूर्ण कामहरु गर्न सक्छ । त्यसको ध्वजाअन्तर्गत आफ्ना मुक्ति संर्घर्षमा श्रमजीवी जनताहरुले जुन चहकिला सफलताहरु हासिल गरेका छन्, ती कुन ऐतिहासिक सत्यका अकाट्य प्रमाण हुन् भने माक्र्सवाद विश्व सर्वहारावर्ग र अन्य प्रगतिशील जनताको संघर्षको बाटोलाई चहकिलो पार्ने भरपर्दो प्रकाश हो, सच्चा ध्रुवतारा हो । यो सिद्धान्त विजयको ध्वजा रहेको कुरा ठोस अनुभवबाट सिद्ध तथ्य हो । यो आधुनिक युगको आकाट्य ऐतिहासिक सत्य हो, जसले गर्दा यसका विरोधीहरुले समेत यसको जीवन्त शक्ति र प्रभावकारीतालाई मान्नुपरेका छन् ।
अत: एक अत्यधिक क्रान्तिकारी र अत्यधिक प्रभावशाली सिद्धान्तको रुपमा माक्र्सवादको प्रभाव व्यापक हुँदो छ र त्यसप्रति विश्वव्यापी आकर्षण बढ्दो छ । त्यसको जत्तिको आम आर्कषण अन्य कुनै सिद्धान्तले तान्न सकेको छैन । विश्वका समस्या र द्वन्द्व तथा अन्तविरोधहरुप्रति संवेदनशील रहेकाहरु, जनमुक्ति, स्वतन्त्रता तथा प्रगतिका पक्षधरहरु सबैको निम्ति माक्र्सवाद सबभन्दा ठूलो आकर्षण–केन्द्र बनिरहेको छ ।
यसै सन्दर्भमा तलका प्रश्नहरु स्वभाविक रुपमा उठ्दछन् : माक्र्सवादमा माथि–उल्लेखित खास विशेषता अन्तर्निहित रहनाको कारण के हो ? त्यसको विशाल जीवन–शक्तिको वास्तविक स्रोत के हो ? त्यसमा पाइने, कहिल्यै नसुक्ने जीवन्तता कुन कुरामा रहेको छ ? यी सवालहरुबारे क्रमश: चर्चा गरिने छ ।

