१– काङ्ग्रेस फ्याक्टर
कुनैबेला पूर्वी धनुषा किसान आन्दोलन तथा वर्ग संघर्षको केन्द्र रहेको थियो । त्यस क्षेत्रमा जमिन्दार हेम बहादुर मल्ल, लिला कोइरालाको दवदवा थियो । जनप्रिय नेता रामवृक्ष यादवको सहादतपछि क.मातृका प्रसाद यादव, क. अजबलाल यादव लगायत माओवादीको नेतृत्वमा स्थानीय कांग्रेसहरुसंँग भिषण संघर्ष गर्नु पर्यो । जनयुद्ध पूर्व क. रामवृक्ष यादव, जनयुद्धको क्रममा क. रामवृक्ष यादवको छोरा शेखर यादव, क. अजबलाल यादव, क.अजबलाल यादवको परिवार सदस्यहरु लगायतका माओवादीहरु हत्या गरियो । त्यसको प्रतिरोधमा केहि कांग्रेसीहरु पनि मारिए । भर्खर सम्पन्न चुनावमा सत्ता गठबन्धनका उम्मेदबार क. मातृका यादवलाई एकथरी काङ्ग्रेसहरुले भोट नदिई संस्थागत योजनाका आधारमा हराएको व्यापक चर्चा छ । स्थानीय चुनावको आधार मान्ने हो भन्ने विपक्षीभन्दा गठबन्धनको १५ हजारभन्दा बढी मत थियो । सबै स्थानीय तह गठबन्धनले नै जितेको छ, प्रदेशमा काङ्ग्रेसले जित हासिल गर्यो । यी सबका बाबजुद माओवादी हार्न पुग्यो । चुनावी अभियानको क्रममा बरमझियाका काङ्ग्रेसी गर्भु यादवले मेरो छातीमा माओवादीको गोली अझै बाँकि छ, मेरो परिवार मारिएको छ भनि विपक्षीसंग खुलेर भोट माग्ने थाले । काङ्ग्रेसबाट निर्वाचित धनुषाधामका नगरपालिकाका मेयर बालेश्वर मण्डलले जनयुद्धमा मेरो काका मारिएको छ भनि गठबन्धनको पक्षमा सक्रिय नभई भित्र भित्रै विपक्षीलाई सघाउन सक्रिय रहे, पटेर्वाका महेन्द्र साह तेलीले भाइ मारिएको भनि मातृका यादवलाई जसरी पनि हराउने तिर लागे । यो त प्रतिनिधि पात्र मात्र हुन् । अपवाद बाहेक समग्रमा काङ्ग्रेसीजनको यस्तै मिल्दोजुल्दो भूमिका रहेको थियो ।
उक्त क्षेत्रमा कांग्रेसका नेता लिलाम कोइराला, आनन्द ढुंगाना चुनाव जित्ने गरेको पछिल्लो २०५६ मा एमाले, २०६४ र २०७४ मा माओबादीकले जितेको थियो । उक्त क्षेत्रलाई काङ्ग्रेसको आफ्नो खानदानी क्षेत्र भनि दावी गर्छन् । यस पटक पनि माओवादी जिते संधै माओवादीले नै पाउने छन्, तसर्थ अर्को चुनावको लागि हराउनु पर्दछ भन्ने मनोविज्ञान देखियो ।
अर्कोतिर जसपाका निर्वाचित उम्मेदवार पूर्व काङ्ग्रेसी नै भएकाले माओवादीलाई जिताउनु भन्दा भाई काङ्ग्रेसलाई जिताएको बेस ठाने ।
२– चुनावी एजेन्डा तथा एन्टि इन्कम्बेन्सी (सत्ता विरोधी लहर)
जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायतका अधिकार प्राप्तिका आन्दोलनबाट प्राप्त उपलब्धि पछि विकास र समृद्धिलाई चुनावको एजेन्डाको रुपमा जनताले हेर्न चाहन्छन् ।
क.मातृका यादव अन्तरिम व्यवस्थापिकामा संसद, पहिलो संविधानसभा सभासद, २०७४ सालमा प्रत्यक्ष निर्वाचित संसद तथा पटक पटक मन्त्री भएता पनि जसरी अधिकार प्राप्तिको आन्दोलनको गर्विलो इतिहास छ, त्यसैगरी विकासको मामिलामा पछाडी रहेको र मतदाताको उच्च आशा आकांक्षालाई सम्बोधन हुन् नसकेको र निर्वाचन पछि जन सम्बन्ध पातलिएको जनगुनासो प्रष्ट देखिन्थ्यो, जनतासंग प्रभावकारी ढंगले दोहरो संवाद स्थापित हुन सकेन । पछिल्लो वर्षमा विकासतर्फ प्रयत्न गरेको भएता पनि मतदातालाई आस्वस्त पार्न सकेन । हेभीवेट नेता जस्तो विकास कार्य नभएको गुनासो सुन्न पाइन्थ्यो ।
हुन त निर्वाचित उम्मेदवारले जनतासँग कुनै लोक लुभावन योजना पेश गर्न सकेको थिएन, मतदाता आशावादी समेत थिएनन् र पनि सत्ता विरोधी लहरका कारण जे भएन पनि आफ्ना प्रतिनिधि परिवर्तन गर्ने चाहना कतिपयमा अवश्य देखिन्थे । पार्टीभित्रको एन्टी इन्कम्बेन्सी पनि देखियो ।
३– हराएको माओवाद हराएको माओवादी
माओवादी विरोधी शक्तिहरुको घोषित अघोषित मोर्चाबन्दीले माओवादीलाई हराउन सफल भयो । वर्तमानमा नामको मात्रै माओवादी अझ भनौ कुनै वेला मालेमावादले हामीलाई पहिचान दिलाएको कारण अर्थात् माओवादीको लिगेसीको कारणले हामी माओवादी भैदिनुपर्ने जस्तो गरी विचारमा माओवादसंग कुनै लेनादेना नै छैन । त्यसको प्रतिबिम्ब संगठनमा देखिएको छ । विरोधीसंग मिलोमतो गरि सहयात्री गठबन्धन घटकका दलका नेता कार्यकर्ताले माओवादीको उम्मेदवारमाथि योजनाबद्ध प्रहार गर्दा संगठानिक रुपमा हामीले चिरफार गर्न सकेनौ । जनयुद्धताकाका कुरा झिकेर माओवादीमाथि प्रहार भै रहदा, माओवादी कार्यकर्ता अलमलमा देखिनुको साथै कतिपयमा अवस्थामा विरोधीलाई सहयोग समेत गरेको देखियो । जनयुद्धमा काङ्ग्रेसतर्फ भएका मानवीय क्षतिलाई उनीहरुले रेकर्डमा राखेर बदला भावमा उत्रेको देखियो तर माओवादीतर्फ भएका क्षति तथा शहीदको बलिदानलाई बिर्सेको जस्तो देखिने गतिविधि माओवादीबाटै भए । शहीद परिवारको नाममा पार्टीबाट सुबिधा प्राप्त गर्ने, जुन शहीद परिवारका हक पनि हो तर पार्टीको योजनाप्रति आफ्नो कर्तव्य निर्वाह नगर्ने दुखद् अवस्था रहेको छ ।
४– चुनावी संगठनको अभाव
विगत पन्ध्र वर्षदेखि इलेक्ट्रोल राजनीतिमा सहभागी भए पनि चुनावी विशेषता अनुरुपको संगठन निर्माण र त्यसको परिचालनमा रहेको कमजोरी चुनावी अभियानमा प्रष्ट देखिन्थ्यो । निर्वाचन जितेको नेताले संगठन अझ संगठनका केहि सिमित स्थानीय नेताहरुमाथि पूर्णतः निर्भर रहनु, उक्त नेताहरुबारे आएको जनगुनासोलाई नजर अन्दाज गर्नु वा वेवास्ता गरेको आरोप जनताले लगाउने गर्दथे । यो, जुन हारको अर्को कारण हुनसक्दछ । संसदीय व्यवस्थामा निर्वाचन लड्ने नेताले नै आफ्नो निर्वाचन क्षेत्र ९अयलकतष्तगभलअथ० को कमाण्डर कमिशार हो, जसको तयारी आफ्नै नेतृत्वमा गर्नुपर्ने अनूभूति भयो, अरुले गर दिन्छ कि वा अरुले गरदिएन भनि मतदाताले उम्कन नदिने देखियो । कतिपय अवस्थामा नेतृत्वको स्प्रिट, अर्को तहको नेता तथा कार्यकर्ता स्प्रिट नमिल्दा घाटा हुने देखियो ।
५–पार्टीभित्रको प्रतिपक्ष र पार्टी नेतृत्वको भूमिका र मधेशमा कमजोर पार्टी बनाई राख्ने
नेकपा (माओवादी) पार्टीभित्र अझ मधेशमा विशेषगरि जनमोर्चासंग एकता भएदेखी जस जसले मातृका यादवलाई विरोध गर्यो, उसलाई मात्रै पार्टीमा जिम्मेवारी दिने, पार्टीमा बढुवा गर्ने काम शीर्ष नेतृत्वको चाहनामा योजनाबद्ध तवरबाट भएको कुरा सजिलै बुझ्न सकिन्छ । पार्टीभित्र एक किसिमको निषेधात्मक राजनीति शुरु भयो, खास गरेर मधेशको कतिपय सवालमा क.मातृकाले लिएको अडान र त्यसबारे नेतृत्वमा रहेको फरक दृष्टिकोणको कारणले हुन सक्दछ्र, जसको असर निर्वाचनमा देखियो । जिल्ला पार्टीका नेतृत्वमध्ये एक दुई जना नेता बाहेक जिल्ला नेतृत्व तथा केन्द्रिय सदस्यहरुको चुनावी अभियानमा खासै प्रभावकारी सक्रियता देखिएन । जिल्ला पार्टीका केहि नेता प्रतिपक्षको भूकिकामा देखिने खालको गतिविधि देखिन्थ्यो । धनुषा जिल्लामा माओवादीको भागमा प्रत्यक्षतर्फ एक सिट प्रतिनिधि सभामा र एक सिट प्रदेश सभामा परेको थियो । दुवैले हारे । पार्टीले समानुपातिकमा धनुषाबाट प्रतिनिधि तर्फ मधेशी महिला कलस्टर, प्रदेश तर्फ महिला, पुरुष, दलित महिला, जनजातीको कल्स्टरमा क्र.सं. पहिलो नम्बरमा बन्दसूचीमा लगायतका समावेश गरेता पनि ति समानुपातिक उम्मेदवारहरुले प्रत्यक्ष उठेका उम्मेदवारलाई जिताउन के कस्तो भूमिका निर्वाह गर्नु पर्ने हो, वहाँहरुको भूमिका के छ भनि पार्टीले खासै चासो लिएको देखिएन । एकल चुनाव लडेको, कतिपय जिल्ला नेतृत्वले संकास्पद भूमिका खलेको कुरा जनताले थाहा पाई हामीलाई बताउथे । उम्मेदवारले भोट माग्न जाने अनि जिल्ला नेतृत्वले लुकी छिपी पार्टीभित्रका असन्तुष्ट व्यक्तिहरुलाई भेटि मातृकालाई जसै हाराउनु पर्छ भनी सक्रिय रहेको शुभचिन्तक मतदाताले बताउने गर्दथे । कतिपयले २०७४ को चुनावमा समानुपातिकमा छनौट हुन रोक्नका लागि मातृकाले कुनै व्यापारीसँग मोटो रकम लिएकाले यहि वेला हो बदला लिनुपर्छ भन्दै सक्रिय थिए । सो विषय प्रष्ट हुन प्रष्ट पार्न पार्टी नेतृत्व कहाँ क.मातृकाले कयौं पटक कुरा राखे पनि, पार्टी नेतृत्वबाट दुवै पक्षलाई एक साथ राखी विषयबस्तु प्रष्ट पारि विवाद समाधान गर्ने प्रयत्न गरेको हो होइन थाहा छैन, तर नखाएको विष क. मातृकालाई लगाउने प्रयास भयो । पार्टीमा कुनै पद वा सुबिधा पाए आफै वा आफ्नै वालमा पाएको जस्तो, नपाए मातृकाले विरोध गर्यो । दिन दिएन भनि नेतृत्व तहबाटै फाटो ल्याउने गरी भन्न दिने, पार्टीको लागि क. मात्रिका आवश्यक छ, तर कमजोर केहि गर्न नसक्ने हातखुट्टा बाँधिएर राख्ने । पछिल्लो तीन वर्षदेखि क. मातृकालाई जिम्मेवारीबिहिन बनाएको अवस्थामा सकारात्मक परिणाम सम्भव थिएन । स्थानीय निर्वाचनमा गौण भूमिका, मधेश पार्टी नेतृत्वबिहिन अवस्थामा छ्र । भोटको राजनीति तथा खुल्ला समयमा मास लिडर चाहिएको वेला भूमिगत शैलीको नेतृत्वलाई जिम्मेवारी सुम्पेको छ । निर्वाचनमा समग्र पार्टी नै परिचालन भएन । समानूपातिकको फेसबुक बाहेक गतिलो प्रचार समेत भएन । स्थानीय निर्वाचन पछि भएको भेटघाटमा पार्टी अध्यक्ष कमरेडलाई यस पंक्तिकारले भनेको थियो– यहि अवस्थामा मधेशमा राम्रो परिणामको अपेक्षा उचित छैन ्र अन्ततः निर्वाचन परिणामले पुष्टि ग¥यो ।
६– संसदीय कोषको परिचालन तथा फितलो व्यस्थापन
संसदीय कोषवाट भएको विकासमा कमिश्न (PC) नलिने नेतृत्ववाट सर्कुलर भएता पनि त्यसको अनुगमन फितलो भएको महशुस मतदाताको प्रतिक्रियाबाट बुझिन्थ्यो ्र संसदीय कोषबाट भएका विकास निर्माणको तथ्यांकको रेकर्ड थिएन । चुनावी कार्यक्रममा कुन गाउँमा के के योजना ल्याईयो रेकर्ड थिएन, जनतालाई थाहा थियो तर नेता कार्यकर्तालाई थाहा थिएन ्र एकमुष्ट रेकर्ड नै थिएन, यसरि गरेको काम पनि ढुक्कको साथ भन्न सकिरहेको थिएन भन्ने उक्त कामको जस पनि लिन सकिएन ।
७– चुनावी योजनाको अभाव
चुनावको समग्र योजना बने जस्तो लागेन । खासमा त्यसमा कसैको चासो भए पनि पाइएन । चुनावको शुरुवात, मध्य, अन्तिम एक दुई दिनमा हँुदा के के गर्ने, कहाँ ध्यान दिने कहाँ जोड दिने, श्रोत कसरी परिचालन गर्ने आदिबारे गहन छलफल भएन । कुन स्तरको नेता कार्यकर्तासंग कसरी डिल गर्ने योजना, गठबन्धन भित्रको अन्य घटकको स्थिति तथा गतिविधिबारे सूचना कसरी प्राप्त गर्ने जस्ता महत्वपूर्ण कुराको योजना बनेन । अगुवा कार्यकर्तासंग महत्वका साथ अपिल गर्ने प्रशिक्षण दिने समेतका काम भएन । कतिसम्म देखियो भन्ने पैसा चाहियो भन्ने तर आफ्नो जिम्मेवारी रहेको गाउँ टोल, वडा, पालिकाको आफ्नो र विपक्षीको भोटको अवस्था के छ भन्ने रिपोर्ट माग गर्दा समेत चासो दिने काम भएन । विशेषतः आर्थिक गतिविधिमा सक्रिय हुन मन पराउने प्रवृति हावी भएको थियो ।
८– प्रचार प्रसार प्रभावकारितामा कमि
प्रयाप्त पोस्टर पम्पलेट हुँदा हँुदै टोलसम्म प्रचार सामग्री पुर्याउन सकिएन । प्रचार तथा परिचालनका लागि पठाएको खर्च बाँडेर आ–आफ्नो खल्तीमा राख्ने काम खर्च नगर्ने, आफ्नै संगठन बलियो नहुँदा गठबन्धनको भरमा हुदो रहेनछ । गठबन्धनमा पार्टीका उम्मेदवार नहुने दलका नेता कार्यकर्तालाई ज्वाईं जस्तै पाल्नु पर्ने, मागेको जति पैसा दिनु पर्ने, गाडी उपलब्ध गराउनु पर्ने तर केहि भन्न नसकिने अनुशासन भन्ने नै केही नुहने स्थितिको प्रत्यक्ष रुपमा अनुभूत गरियो ।
अर्को डिजिटल मिडिया प्रचारका लागि सामग्री जुटाउनमा पनि समस्या देखियो ।
९–सबैला नगरपालिकाको भूमिका
स्थानीय निर्वाचनपछि पार्टीको मेयर भएका कारणले करिब ६ महिनाको समय अबधिमा पनि आशा जगाउने खालको विकास निर्माण कार्यको थालनी गर्न सकेको भएको निर्वाचन परिणाममा यसले सकारात्मक भूकिका निर्वाह गर्न सक्दथ्यो । किनकि त्यहाँ जनसमुदायले सबैला न.पा. गतिविधिलाई क. मातृका यादवसंग जोडेर हेर्छन । जुन स्वाभाविकै हो । बरु विपक्षीले न.पा.मा भाइ संसदमा दाइ भनि प्रचार गरी, पार्टीका कतिपय सोझा कार्यकर्तालाई बर्गलाए भन्ने जनतामा भ्रम दिने कोसिस गरे ।
१०– पार्टी फूटको असर
त्यस क्षेत्रका निर्वाचित जनप्रतिनिधि पार्टी परित्याग गरि बाहिरिएको असर केहि हदसम्म देखियो । महान सहिद अजवलाल यादवका परिवारका केहि सदस्य एमालेतिर लागेको असर पनि देखियो ।
११– पहाडी मधेशीको फिलिंग
पंचायतकालदेखि उक्त क्षेत्रमा राजनीति रुपमा पहाडी मूलका नेता पञ्च हेम बहादुर मल्ल, काङ्ग्रेसका नेता लिला कोइराला र आन्नद ढुंगानाले पटक पटक निर्वाचित भएका हुन् । तर २०५६ सालदेखि मधेशी समुदायका नेताहरु निर्वाचित भएका कारण हाल निर्वाचित दिपक कार्कीले पहाडी समुदायलाई हाम्रो बाऊ पूर्खाले शासन गरेको ठाउंँ हो भनि प्रचार गरी अधिकांस खस–आर्य, क्षेत्री पहाडी मूल मतदातालाई भ्रमित गराउन सफल भएका हुन् । अझै पनि शासक जातिले मधेशी नेतृत्व स्वकीर गर्न गाह्रो मानिरहेको अवस्था छ भने केही मधेसीहरु मालिक कै लठैत बन्नमा गर्व गर्छन ।
अन्तमा, एन्टी इन्कम्बेन्सी, पार्टी नेतृत्वको उदासिनता तथा प्रभुत्व , जिल्ला पार्टीको नगन्य भूमिका, संगठनको आभाव, निर्वाचन पूर्व तयारी विना, विपक्षी गठबन्धन तथा काङ्ग्रेस समेतको साथले संचालन गरेका मातृका हराउ अभियानका बाबजुद स्थानीय कार्यकर्ताको विशेष मिहनेत र कमरेड मातृका यादवको हार्ने निश्चित हुदाहुदै पनि जुन सुकै लडाई सम्पूर्ण शक्तिका साथ लड्ने शैलीका कारणले एक्काईस हजार भन्दा बढी मत पाउनु भयो । उक्त जनादेशकै धरातलमा टेकी जनाधिकार तथा विकासको एजेन्डालाई उच्च मनोवलका साथ जनसेवामा जुट्न अवश्य प्रेरित गर्छन नै । हारबाट शिक्षा लिदै अगाडी बढ्नु पर्नेछ । सबैला न.पा.बाट विकास तथा सुशासनको नयाँ मोडेल दिन सके, त्यस क्षेत्रका जनताले क.मातृका यादव हारेर के गुमाए भने अनूभूत अवश्य नै गर्ने छन् ।
(लेखक अधिवक्ता हुन् ।)

