दमौली। दमौलीको मादी पुलबाट बोलेरो गाडी नदीमा खस्दा ३ युवाको मृत्यु भएको छ । रात छिपिँदै जाँदा दमौली बजारको कोलाहल शान्त बन्दै थियो । उनीहरू गाडी चढेको ठाउँ र दुर्घटना भएको स्थानको दूरी एक किलोमिटरको मात्रै थियो ।
व्यास नगरपालिका–५ पाटनका कुशल, प्रवीन र कुमार मगरले काम गर्ने रेष्टुरेन्ट पनि बन्द भयो । शनिबार काम छिट्टै सकिएकाले उनीहरू घुम्न बजार निस्किए । रातको ११ बज्यो । उनीहरू घर फर्किन खोज्दै थिए । त्यसैबेला रेष्टुरेन्टका नियमित ग्राहक रोहित गुट्टासँग भेट भयो । रोहित बोलेरो गाडी चलाउँथे । शनिबार पनि बोलेरोसहित आएका थिए ।
रातिमा चिनजान भएका व्यक्तिहरू भेटिएपछि उनले ‘चापाघाटसम्म पुर्याइदिन्छु’ भने । उनीहरु तीन जना गाडीमा चढे । उनीहरूसँगै बोलेरोमा थिए । रोहितका साथी धिरज रौनियार ।
यात्रा धेरै लामो थिएन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ताका राजु अधिकारीका अनुसार दमौली बजारबाट मादी नदीको पुल पार गर्नासाथै चापाघाट सुरु हुन्छ । दमौली बजारको केन्द्र भागबाट मादी पुलबीचको दूरी जम्मा एक किलोमिटर मात्रै छ ।
उनीहरू चढेको ग२च ५७६० नम्बरको बोलेरो गाडी केही मिनेटमै मादी पुलमा पुग्यो र रेलिङमा ठोक्किँदै तल बगरमा खस्यो । गाडी पुलको रेलिङमा सुरुमा ठोक्किएर ५० मिटर परसम्म पुगेर नदीमा खसेको प्रहरीको भनाइ छ ।
चिनेका साथीको गाडी चढेर घर हिँडेका कुशल, प्रवीन र कुमार त्यहीँ नदीमै अस्ताए । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । गाडीसँगै नदीमा खसेका चालक रोहित र साथी धिरज रौनियार घाइते छन् । उनीहरुलाई तत्कालै उद्धार गरेर प्रहरीले अस्पताल पुर्याएको थियो ।
अस्पताल स्रोतका अनुसार धिरजको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि पोखरा रिफर गरिएको छ । चालक रोहितको भने दमौलीमै उपचार भइरहेको छ । उनी कुराकानी गर्न सक्छन् ।
चालक रोहितका अनुसार बसले ओभरटेक गर्दै आइरहेकाले दुर्घटना भएको हो । ‘हामी यताबाट जाँदै थियौं, त्यो बेलामा विपरीत दिशाबाट बस ओभरटेक गर्दै आइरहेको थियो’, उनले भने, ‘डर लागेर मैले बायाँ मोड्न खोजें तर गाडी पुलबाट खस्यो ।’
यही पुलबाट १२ वर्षअघि पनि रेलिङ भत्काउँदै एउटा बस मादी नदीमा खसेको थियो । त्यसबेला ११ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । यो पुल वि.सं.२०२८ सालमा बनेको हो । रेलिङ पुरानै भएकाले कमजोर र सजिलै भाँचिने खालका छन् । पुलको किनारमा रहेको बीम ९पर्खाल० पनि एक बित्ता मात्रै अग्लो छ । यो उचाइ गाडी रोक्न पर्याप्त नभएकाले पुलमा दुर्घटना हुने गरेको दमौली नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको अनुमान छ ।
तर, मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजनाका सूचना अधिकारी विष्णु पाण्डे धेरैजसो सवारी दुर्घटना चालकको असावधानी र तीव्र गतिका कारण हुने गरेको बताउँछन् । गएरातिको दुर्घटना पनि सोही कारण भएको हुनसक्ने उनको अनुमान छ ।

