काठमाडौं । जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले एमसीसी पारित गर्दा गरिएको ‘व्याख्यात्मक टिप्पणी’ लाई प्रचण्ड माधव नेपालले ओढेको कथित बर्कोको संज्ञा दिएका छन् । ‘मूल नेतृत्वले संसद्मा मतदान हुने दिन आएर यो मुद्दामा आश्चर्यजनक र नाटकीय ‘यू टर्न’ गर्यो । प्रचण्ड र माधव नेपाल समूहको सहजताका लागि तयार गरिएको कथित ‘व्याख्यात्मक टिप्पणी’ को बर्की ओढियो’ भट्टराईले पार्टी विस्तारित बैठकमा प्रस्तुत दस्तावेजमा भनेका छन् ‘यसले के देखायो भने गम्भीर भूराजनीतिक बिषयमा पार्टीको नेतृत्वसँग प्रस्ट दृष्टिकोण विचार र अडान रहेनछ ।’ बाबुराम निशर्त एमसीसी पास गर्ने पक्षमा उभिएका थिए ।
‘आगामी दिनमा दक्षिण एशियाको हिमाली क्षेत्रमा नयाँ ढंगको शीत युद्धको बादल जसरी मडारिने संकेत देखिँदैछ’, उनले लेखेका छन्, “मूल नेतृत्वको यस खाले अविश्वासनीय प्रवृति देशकै लागि निक्कै घातक बन्न सक्दछ ।”
पछिल्लो विश्वस्थितिबारे भट्टराईको विश्लेषण
सन् २०१० पछिको विश्व परिस्थिति सन् १९९० पछिको भन्दा बिल्कुलै फरक, नयाँ र मौलिक हुँदै गएको छ । त्यतिखेर सोभियत संघको विघटनपछि शीतयुद्धको अन्त्य र अमेरिकी नेतृत्वको एकध्रुवीय विश्वको चर्चा गरिन्थ्यो । आज विश्व प्रष्टसंग देखिने गरी बहुध्रुबीय बनेको छ ।
बहुध्रुबीय विश्वमा अमेरिका र चीन दुई ठूला शक्ति र प्रतिस्पर्धी देशका रुपमा देखिएका छन । युरोपका पुराना भिटो राष्ट्र रुस, बेलायत र फ्रान्सको शक्ति हिजोको तुलनामा केही ह्रास भएको भए तापनि ती अझै शक्ति राष्ट्र नै हुन् । विघटित सोभियत संघको उत्तराधिकार राज्यका रुपमा रुसले आफूलाई पुनर्स्थापित गर्न खोज्दैछ । युक्रेन युद्धमार्फत् रुसले आफूलाई पुनश्च शक्तिराष्ट्रका रुपमा स्थापित गर्न चाहेको र विश्व बर्चश्वमा हिस्सेदारी खोजेको सजिलै बुझ्न सकिन्छ ।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा भिटो दाबी गर्ने नयाँ राष्ट्रहरुलाई ‘ग्रुप–४’ भन्ने गरिन्छ । यसभित्र जर्मनी, जापान, ब्राजिल र भारत छन् । यसको अर्थ यी राष्ट्रहरुले आफूलाई नयाँ शक्ति राष्ट्रका रुपमा विकास गर्न चाहेको छन । ब्रिक्सको संस्थापक राष्ट्र हुँदै दक्षिण अफ्रिका अफ्रिकी क्षेत्रको शक्ति राष्ट्रका रुपमा उदित हुन खोज्दैछ । यो बहुध्रुबीय नयाँ विश्वको संक्षिप्त चित्र हो ।
समकालीन विश्वका यी शक्ति राष्ट्रमध्ये तीन वटा देश भारत, चीन र अमेरिका हाम्रा लागि असाध्यै महत्वपूर्ण छन । चीनले सन् २०१४ पछि रोड एण्ड बेल्ट इनिसिएटिभ (बिआरआई) जस्तो विशालकाय विश्व परियोजना अघि बढाएको छ । नेपालले यसमा हस्ताक्षर गरिसकेको छ । चीनसंग हाम्रो लामो सीमा–सम्बन्ध छ ।
अर्को छिमेकी राष्ट्र भारतलाई विश्वले नै उदयमान शक्ति राष्ट्र स्वीकार गर्न थालेको छ । इन्डो–प्यासिफिक रणनीति र क्वाडमा भारतको संलग्नताले चीनसंगको उसको प्रतिस्पर्धी चरित्रलाई सहजै अनुमान गर्न सकिन्छ । अमेरिकाको पुरानो बर्चश्व आफ्नो ठाउँमा छँदैछ । यी आयामलाई हामीले हाम्रो विचारधारात्मक हित र भूराजनीतिक हित दुबै संवेदनशीलताबाट पर्गेल्न र सोही अनुरुप व्यवहार गर्न सक्नु पर्दछ । हाम्रो आन्दोलन र पार्टी शास्त्रीय पुँजीवादी वा शास्त्रीय साम्यवादी दुबै हैन भन्ने कुरा हामीले सर्वथा हेक्का राख्नु पर्दछ ।
सन् १९९० को अघिको विश्व राजनीति युुरोपेली पुनर्जागरण र प्रबोधन युगबाट विकसित हुँदै आएको उदार लोकतन्त्र र अठारौं शताब्दिको औद्योगिक क्रान्तिको जगमा बनेको साम्यवादी विचारधारा– यी दुई मुख्य भावधारामा विभक्त थियो । अठारौं, उन्नाइशौंं र बीसौं– यी ३ शताब्दिमा भएका वैचारिक, राजनीतिक संघर्ष, राज्य तथा अर्थतन्त्र संचालनका अनुभव र ज्ञानविज्ञानको विकासक्रमले त्यस्तो वैचारिक संश्लेषण तथा ध्रुवीकरण पर्याप्त र उचित हैन भन्ने कुरा व्यवहारबाटै गरिसकेको छ ।
व्यक्तिवादी स्वतन्त्रता, खुल्ला बजार अर्थतन्त्र र निरपेक्ष बजारवादमा आधारित राज्य र अर्थतन्त्रहरुमा मुख्यतः आर्थिक असमानता, बेरोजगारी, सीमान्तकृत समुदायको बहिष्कारण, लोकतन्त्रको संकुचन तथा औपचारिकीकरणजस्ता समस्या देखिए भने साम्यवादी राज्यसत्ता र अर्थतन्त्रमा एकलीयता, राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको अभाव, राज्य–अर्थतन्त्र, बजार, उत्पादन र रोजगारको बहुमुखी विकास हुन नसक्नु, सामाजिक विविधताको दमनजस्ता समस्याको चाङ लाग्दै गयो ।
समुन्नत संघीय समाजवादको वकालत
भट्टराईले दस्तावेजमा समुन्नत संघीय समाजवादको वकालत गरेका छन् । उनले भनेका छन्, “समुन्नत संघीय समाजवादको सिद्धान्त दार्शनिक दृष्टिकोणले द्वन्द्वात्मक तथा भौतिकवादी विश्वदृष्टिको अझ विकसित र संगठित रुप सर्वाङ्गिक तथा वैज्ञानिक मानवतावादमा आधारित हुनेछ । यसले सबै प्रकारका रुढी, जडता, अन्धविश्वास वा अवैज्ञानिक तर्क प्रणालीलाई प्रतिवाद गर्दै वैज्ञानिक खोज अनुसन्धानमा आधारित भएर सत्यतथ्यको विश्लेषण तथा संश्लेषण गर्दछ । मानवजातिको ऐतिहासिक तथा भौतिकवादी विकास प्रक्रियालाई आत्मसात गर्दै अझ परिकृष्त र समुन्नत समाज निर्माण गर्ने अभिष्ट राख्दछ ।”
राजनीतिको दृष्टिकोणबाट यो सिद्धान्तको मुख्य अभिष्ट लोकतन्त्रको अझ बढी विकास गर्नु हो । निरंकुश राजतन्त्र, जहाँनिया शासन, एकदलीय प्रणाली, सैनिक तानाशाही वा अन्य कुनै प्रकारका अलोकतान्त्रिक शासन व्यवस्थालाई हाम्रो सिद्धान्तले समर्थन गर्दैन । गर्न सक्दैन । गर्नु हुँदैन ।
तर, लोकतन्त्रको अर्थ केवल उदार लोकतन्त्र वा ‘राजनीतिक लोकतन्त्र’ मात्र हैन । समुन्नत संघीय समाजवादको सिद्धान्तमा लोकतन्त्र एक समष्टिगत अबधारणा हो । यसभित्र ‘राजनीतिक लोकतन्त्र’ को साथसाथै, आर्थिक लोकतन्त्र, सामाजिक लोकतन्त्र र पर्यावरणीय लोकतन्त्र समेत समाष्टि हुनु पर्दछ । यस्तो लोकतन्त्रलाई सहभागितामुलक–समावेशी लोकतन्त्र भन्न सकिन्छ। सहभागिता, समावेशिता, समानुपातिकता, संघात्मकताआदि यस्तो लोकतन्त्रका अनिवार्य गुण हुनेछन । विद्यमान संसदीय उदार लोकतन्त्रलाई सहभागितामुलक–समावेशी लोकतन्त्रमा रुपान्तरण र विकसित गर्नु हाम्रो सिद्धान्तको मुख्य राजनीतिक दायित्व हो ।
अर्थशास्त्रीय दृष्टिकोणबाट यस सिद्धान्तले परम्परागत निरपेक्ष खुल्ला बजार अर्थतन्त्र, राज्य–समाजवादी अर्थतन्त्र वा शास्त्रीय मिश्रित अर्थतन्त्रको साटो राज्यको सामाजिक उत्तरदायित्वसहितको बजार अर्थतन्त्र अर्थात् बजार–समाजवादको आर्थिक मोडेल अबलम्बन गर्दछ । यस मोडेलमा सरकारी, निजी, सहकारी र सामुदायिक स्वामित्व बीच गतिशील सन्तुलन, सहकार्य र प्रतिस्पर्धा हुनेछ । तीव्र आर्थिक बृद्धि, पर्याप्त भौतिक पूर्वाधार विकास, समन्यायिक वितरण, समतामुलक संमृद्धि, दीगोपना र मानवीय खुशी यस्तो आर्थिक ढाँचाका मुख्य आधार तत्व हुनेछन।
समाजशास्त्रीय दृष्टिकोणबाट यो सिद्धान्तले बहुभाषिक, बहुुधार्मिक, बहुसाँस्कृतिक नीति अख्तियार गर्दछ । सामाजिक विविधताको संरक्षण र लैङ्गिक, वर्गीय र नश्ली सबै प्रकारका विभेदको अन्त्य गर्नेछ । बहुसाँस्कृतिकतावादलाई राज्य संरचनाबाटै संवोधन गर्न पहिचानमा आधारित प्रदेश सिमांकनको नीति अबलम्बन गर्दछ । देशका सबै उत्पिडित राष्ट्रियताहरुको पहिचानको मान्यतालाई स्थापित गर्दै बहुलतायुक्त राज्य निर्माण गर्दछ । प्रादेशिक स्वशासन र संघस्तरमा साझेदारी शासन हुनेछ । प्रादेशिक पहिचानमा नसमेटिएका अन्य अल्पसंख्यक तथा सीमान्तकृत समुदायका लागि विशेष स्वायत्त तथा संरक्षित क्षेत्रहरु निर्माण गरिनेछन। पार्टी र राज्य संगठनलाई प्रादेशिक तथा सामुदायिक जनसंख्या अनुपातका आधारमा पूर्ण समानुपातिक र समावेशी बनाइने छ ।
उपरोक्त मूल्यमान्यतालाई स्थापित गर्न हामीले जनस्तरबाटै नयाँ साँस्कृतिक प्रचलन स्थापित गर्नु पर्ने छ । समावेशी लोकतन्त्र अनुकुल आम मनोविज्ञानको निर्माण गर्न त्यही अनुरुपको वैचारिक पैरवी र पार्टी जीवन हुनु पर्दछ । नैतिकआचरणयुक्त सदाचारी जीवनपद्धति, सहिष्णुता र सभ्य लोकतन्त्र, पारदर्शिता र गतिशीलतालाई जोड दिनु पर्दछ । अनावश्यक तडकभडक, गुटबन्दी, संकिर्णता, सत्ता र शक्तिप्रतिको अतिमोहजस्ता रोगबाट पार्टी, आन्दोलन र जनसमुदायलाई जोगाउँनु पर्दछ ।

