काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १० स्थित बुद्धमार्ग टोल विकास समितिले आफ्नो २६ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु २०३० सालदेखि बसोबास गर्दै आएका यस टोल विकास समितिमा १०८ घरको बसोबास रहेको छ । यो बस्तीलाई उपत्यकाको सबैभन्दा पुरानो सुकुम्बासी तथा अव्यवस्थित बस्तीको रुपमा लिने गरिन्छ ।
नेपाली कांग्रेसका नेता तथा सांसद एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा २०७९ सालको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।
टोलविकास समितिका अध्यक्ष हुकुमबहादुर लामाको अध्यक्षता र सचिव राजु तामाङको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पवन गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा १० नं. का वडा अध्यक्ष रामकुमार केसीको विशेष आतिथ्यता रहेको थियो भने वडा सदस्य सुनिता भित्रकोटी, सतिश तण्डुकार, रोहिणी श्रेष्ठ, नरोज अर्याल, नेपाल महिल एकता समाजकी महासचिव धन लामा, नेपाल बसोबासकी कोषाध्यक्ष स्मिता आचार्य, नेपाल महिला एकता समाजकी कोषाध्यक्ष विना बुद्धाचार्य, संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिव दिपकजंग कुँवर, नेकपा (एमाले)का कामनपा कमिटिका सचिवालय सदस्य अरुण बस्नेत लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सिंहले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधानको लागि आफू र आफ्नो पार्टी गम्भिर रहेको र त्यसका लागि नेपाली कांग्रेसलाई अगामी चुनावमा विजयी गराउन भने । उनले आफ्नो अधिकांश समय कम्युनिस्टहरुको भण्डाफोरमा खर्चेका थिए ।
कार्यक्रममा टोल विकास समितिको भवन उद्घाटन तथा १०८ घरलाई ब्लक नम्बर वितरण गर्ने भनिए पनि निर्वाचन आचारसंहिता लागु भइसकेकोले सो कार्यक्रम अहिले नगरिएको अध्यक्ष लामाले जानकारी दिए ।
कार्यक्रममा बुद्धमार्ग टोल विकास समितिलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याए बापत सम्मान पत्र समेत हस्तान्तरण गरिएको थियो ।

