इंग्ल्याण्डका विश्वकप विजेता कप्तान इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । यसबारे उनले मंगलबार औपचारिक घोषणा गर्ने बताइएको छ । मोर्गनको नेतृत्वमा इंग्ल्याण्डले सन् २०१९ को विश्वकप जितेको थियो भने एक दिवसीय र टी २० को वरीयतामा शीर्ष स्थानमा पुगेको थियो ।
३५ वर्षीय खेलाडीले सन् २०१२ मा टी–२० टोलीको नेतृत्व सम्हालेका थिए भने सन् २०१४ मा एकदिवसीय टोलीको कप्तान बनेका थिए । पछिल्लो समय उनी फर्म र फिटनेसका लागि संघर्षरत छन् । उनको स्थानमा जोस बट्लर कप्तान बन्नेछन् ।
मोर्गनले एकदिवसीय र टी २० क्रिकेटमा इंग्ल्याण्डका क्रमशः सर्वाधिक ६ हजार ९५७ र २ हजार ४५८ रन बनाएका छन् । एक दिवसीयमा २२५ खेल र टी २० मा ११५ खेल पनि इंग्ल्याण्डका लागि रेकर्ड हो ।

