वि.सं.२०८३ कात्तिक २९ शनिवार
Shivam
Dish Home Long Ad
TaTa
नेपाल–भारतबिच जल-वार्ता काठमाडौँमा : के के छन् एजेण्डा ?

काठमाडौँ, २० असोज २०८३ । नेपाल–भारत जलस्रोतसम्बन्धी संयुक्त स्थायी प्राविधिक समिति (जेएसटीसी) को आठौँ बैठक आज काठमाडौँमा सुरु भएको छ । बैठक होटल याक एन्ड यतिको दरबार हलमा असोज २०–२१ (अक्टोबर ६–७) मा हुँदैछ । त्यसपछि असोज २२ (अक्टोबर ८) मा जलस्रोतसम्बन्धी संयुक्त समिति (जेसीडब्लूआर) को दसौँ बैठक बस्नेछ । अघिल्लो बैठक असोज २०७९ मा बसेको थियो । त्यसको चार वर्षपछि यो बैठक बसेको हो । महाकाली सन्धिको तीस वर्षे अलमलमा परेको पञ्चेश्वर आयोजना यसपटक पनि छलफलको केन्द्रमा छ, तर भारतको चाहना भने बहस पञ्चेश्वरमा मात्र सीमित नहुने उर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार पहिलो दिन (आज) बिहान नास्तापछि उद्घाटन र एजेन्डा प्रस्तुति भएको छ। त्यसपछि दुई सत्रमा मुख्य द्विपक्षीय छलफल हुन्छ, र साँझ पहिलो दिनको निष्कर्ष टिपोट गरिन्छ । दोस्रो दिन अघिल्लो दिनको पुनरावलोकनपछि सहमतिको कार्यवृत्त मस्यौदा गरिन्छ र तेस्रो सत्रपछि जेएसटीसी बैठकको कार्यवृत्तमा हस्ताक्षर हुन्छ । राति नेपाल पक्षले मुख्य भोज आयोजना गर्नेछ । तेस्रो दिन जेसीडब्लूआरको छलफल र कार्यवृत्त हस्ताक्षरसँगै बैठक टुंगिने छ ।
जेएसटीसीमा नेपालतर्फ जलस्रोत महाशाखाका सहसचिव सुशील चन्द्र आचार्य र भारततर्फ श्रीशेर सिंहले टोली नेतृत्व गरेका छन् । जेसीडब्लूआरमा नेपालतर्फ सचिव जगदीश्वर कर्माचार्य र भारततर्फ अर्चना वर्मा नेतृत्व गर्नेछन् । सामान्यतया प्राविधिक समितिले तयार पारेको आधारमा माथिल्लो तहको समितिले निर्णय गर्ने भएकाले पहिलो दुई दिनको नतिजाले तेस्रो दिनको वातावरण निर्धारण गर्ने स्रोतले बतायो ।
तीस वर्षपछि पनि पञ्चेश्वर किन अड्किएको छ ?
नेपाल–भारतबीच माघ २०५२ (फेब्रुअरी १९९६) मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पी.भी. नरसिंह रावका बीच महाकाली सन्धि भएको थियो । सन्धिले शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर आयोजनालाई समेटेको छ र छ महिनाभित्र पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंग्याउने लक्ष्य राखेको थियो । संसद्ले २०५३ असोजमा सन्धि अनुमोदन गरेको थियो । आज तीन दशकपछि पनि डीपीआर अन्तिम भएको छैन ।
योजनाअनुसार आयोजनामा ३१५ मिटर अग्लो बाँध बन्नेछ र दुई जलविद्युत् केन्द्र मिलाएर कुल क्षमता ५,०४० मेगावाट हुनेछ । यसले दुवै देशको बिजुली, सिँचाइ र पानी व्यवस्थापनमा सहयोग पु¥याउने अपेक्षा छ । तर तीस वर्षमा प्राविधिक विषयभन्दा बढी राजनीतिक इच्छाशक्तिको अभाव, नीतिगत निरन्तरताको कमी र लागत तथा लाभको बाँडफाँटमा असहमति देखिएका छन् । बिजुलीको मूल्य, वातावरणीय सरोकार र दीर्घकालीन कार्यान्वयन योजनामा पनि सहमति जुट्न सकेको छैन । पानीको बाँडफाँट सबैभन्दा विवादित विषय बनिरहेको छ ।
भारतको सरकारी स्वामित्वको परामर्शदाता वाप्कोसले दुवै देशका अलग प्रतिवेदन एकीकृत गरी सन् २०१६ मा डीपीआरको मस्यौदा बुझाएको थियो । त्यसपछि पनि बाँध र जलाशयको परिमाणदेखि लागत बाँडफाँटसम्म वार्ता चलिरह्यो । संयुक्त विज्ञ समूहले संशोधित डीपीआर तयार पारेको छ र यसपटक त्यसमाथि छलफल हुने बताइएको छ ।
७०ः३० को समीकरण
यसपटकको सबैभन्दा चर्चित बुँदा लगानी अनुपात हो । सरकारी स्रोतका अनुसार संयुक्त विज्ञ समूहमा नेपालले जम्मा लगानीको ७० प्रतिशत भारतले र ३० प्रतिशत नेपालले बेहोर्ने प्रस्ताव राखेको छ । तर्क सरल छ ः बिजुलीको लाभ दुवै देशले बराबर उपयोग गर्न सके पनि सिँचाइ र बाढी नियन्त्रणको लाभ भारतले बढी पाउँछ, त्यसैले लगानी लाभको अनुपातमा हुनुपर्छ । सुरुमा ५०–५० को मोडलबारे कुरा भएको थियो । अनौपचारिक छलफलमा ३०ः७० को प्रस्ताव आएपछि एक स्रोतले यसलाई दुवै पक्षलाई स्वीकार्य हुनसक्ने समीकरण भनेका छन् ।
पानी उपयोगको स्पष्ट आधार र सिँचाइका लागि कुन प्रणालीबाट पानी लैजाने भन्ने विषय पनि नेपालको प्रस्तावमा परेको स्रोतले जनाएको छ । पूर्वऊर्जा सचिव तथा पञ्चेश्वर आयोजनाका तत्कालीन प्रमुख कार्यकारी निर्देशक मधुप्रसाद भेटुवालका अनुसार उनको कार्यकालमा लाभको रकम र पानीको परिमाण (क्वान्टम अफ वाटर राइट्स) कसले कति पाउने भन्ने टुंगिएको थिएन । त्यसै कारण यो अझै पनि वार्ताको मुख्य गाँठो बनिरहेको छ ।
यसअघि पञ्चेश्वर विकास प्राधिकरण गठनमा पनि लामो विलम्ब भयो । संयुक्त जलस्रोत समितिको तेस्रो बैठकले सन् २००८ मा यथाशीघ्र प्राधिकरण बनाउने निर्णय गरेको थियो, तर दुवै देशले यसबारे सहमति जनाउन सन् २०२४ सम्म कुर्नुप¥यो । भारतीय पक्षले प्राधिकरणबारे आफ्नो प्रस्ताव नेपाल सरकारका सम्बन्धित मन्त्रालयमा पठाइसकेको छ ।

सरकारसँग सम्बद्ध स्रोतहरूले यसपटक भारतीय पक्ष अघिल्ला चरणको तुलनामा बढी सकारात्मक देखिएको दाबी गरेका छन् । परराष्ट्रमन्त्री शिशिर खनालको जुनको पहिलो साताको भारत भ्रमणमा भारतले मतभेद सुल्झाएर महाकाली सन्धि कार्यान्वयन अघि बढाउन तयार रहेको प्रतिबद्धता जनाएको थियो । अनौपचारिक वार्तामा प्रधानमन्त्री वालेन्द्र शाहका सहयोगीले पञ्चेश्वरमा लामो समय नलम्ब्याई ठोस प्रगति गर्नुपर्ने अडान राखेको दावी गरेका छन् । यी सबै कुरा सरकारी स्रोतका दाबी हुन्, भारतको आधिकारिक अडानको पुष्टि होइन ।

के के छन् फलफलका एजेण्डा ?
स्रोतका अनुसार भारतीय पक्षले द्विपक्षीय वार्तामा जलस्रोतसँग सम्बन्धित विभिन्न आठ वटा एजेण्डा अगाडि सारेको छ ।
पहिलो एजेण्डामा महाकाली सन्धि कार्यान्वयनको विषय उठाइएको छ । त्यसमा पञ्चेश्वर, टनकपुर ब्यारेजको हेड रेगुलेटर र नेपाल सीमासम्मको लिंक नहरको सञ्चालन, टनकपुर–महेन्द्रनगर लिंक सडक र चाँदनी–दोधारा सिँचाइ क्षेत्रको डीपीआरसम्बन्धी विषय रहेका छन् । भारतले यसमा थप ‘सन्धिको एकीकृत र समग्र कार्यान्वयन’ विषयलाई समेटेको छ, जसले सन्धिका सबै पक्षलाई एक प्याकेजका रूपमा अघि बढाउन खोजेको संकेत गर्छ ।
त्यसैगरी, भारतीय पक्षले सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण–डाइभर्सन योजनालाई पनि प्राथमिकतामा राखेको छ । भारतले परिमार्जित परियोजना मापदण्ड पुष्टि गर्न र सप्तकोशी बहुउद्देश्यीय आयोजना र सुनकोशी योजनालाई मिलाएर ‘सुनकोशी कमला डाइभर्सन बहुउद्देश्यीय परियोजना’ नामकरण गर्न प्रस्ताव गरेको पनि स्रोतको दावी छ । यसले सम्बन्धित कार्यालयको कार्यकाल विस्तार, नेपालभित्र पानी ढुवानी संयन्त्रको टुंगो, नेपाल विद्युत प्राधिकरणबाट विद्युत प्रणाली अध्ययनको परिमार्जित प्रस्ताव र बाँध क्षेत्रमा ड्रिलिङका बेला शान्ति–सुरक्षाको अनुकूल वातावरण पनि माग गरेको स्रोतले जानकारी दियो ।
त्यसैगरी भारतीय पक्षले कोशी र गण्डक सम्झौतासँग जोडिएका विषय पनि छलफलमा उठाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । कोशीतर्फ क्षतिपूर्ति, दायाँ किनारको तटबन्ध र कोशी टप्पु वन्यजन्तु आरक्षका अधिकारीले लगाएको बारले तटबन्ध मर्मतमा पारेको अवरोध हटाउनुपर्ने विषय उठाइएको छ । गण्डकतर्फ १५,००० बाँकी सिँचाइ, पश्चिमी मुख्य नहरको मर्मतका लागि बन्द अवधि घटाउने विषय, स्थानीयले जग्गा कब्जा गरेको र ढल निकासको समस्या समाधान गर्नुपर्ने विषय पनि जारी वार्तामा उठ्ने बताइएको छ । त्यसमा उत्तर प्रदेश सरकारको नयाँ एजेन्डाका रूपमा बाल्मीकि ब्यारेजपछि गण्डकको दायाँ किनारमा नेपाली भूभागमा हुने अनियन्त्रित उत्खननले तटबन्ध स्थायित्वमा पारेको असरको विषय पनि राखिएको छ ।
नेपाली पक्षले सीमा क्षेत्रमा सडक तथा संरचना निर्माणले ल्याएको डुबानको विषय पनि उठाउने स्रोतले जानकारी दियो । भारतले नवलपरासीको चिनी मिलले रोहिणी नदीमा पारेको प्रदूषणलाई पनि उठाएको छ ।

Agni

सम्बन्धित खवर