वि.सं.२०८३ भदौ ७ आइतवार
Dish Home Long Ad
स्युयान चाङको ऐतिहासिक यात्रामा नेपालः बौद्ध सम्पदाको अन्तर्राष्ट्रिय प्रवर्द्धनको अवसर
Prabhu Bank AD

चीनका प्रसिद्ध बौद्ध भिक्षु तथा विद्वान् स्युयान चाङले १,३०० वर्षभन्दा अघि ज्ञान र बौद्ध दर्शनको खोजीमा गरेको ऐतिहासिक यात्रालाई पुनःअनुसरण गर्ने अन्तर्राष्ट्रिय अभियानमा नेपाल पनि जोडिएको छ।
चीनबाट सुरु हुने यस यात्राले प्राचीन सिल्क रोड हुँदै नेपाल भएर भारतको नालन्दा महाविहारसम्मको यात्रा तय गर्ने स्रोतले जनाएको छ ।
‘२०२६ जर्नी टु द वेस्ट—रिट्रेसिङ स्युयान चाङ्स जर्नी’ नामक अभियानको औपचारिक शुभारम्भ अगस्ट १४ मा चीनको बेइजिङस्थित चाइना नेसनल कन्भेन्सन सेन्टरमा भएको हो। चाइना आर्ट्स एन्ड इन्टरटेनमेन्ट ग्रुपको आयोजनामा सुरु भएको अभियानमा विभिन्न देशका कूटनीतिज्ञ, संस्कृति तथा पर्यटन क्षेत्रका प्रतिनिधि, बौद्ध अध्ययनका विद्वान्, अनुसन्धानकर्ता, पर्यटन विज्ञ र सञ्चारकर्मी सहभागी भएका थिए।
स्युयान चाङको ऐतिहासिक यात्रा चीनबाट सुरु भएर मध्य एसियाका विभिन्न देश हुँदै नेपाल र त्यसपछि भारतको नालन्दासम्म पुग्ने भएकाले यस अभियानमा नेपालको विशेष सांस्कृतिक तथा बौद्ध महत्व रहनेछ।
स्युयान चाङको यात्रा मूलतः बौद्ध धर्म, दर्शन र ज्ञानको खोजीमा केन्द्रित थियो। भारतमा बौद्ध दर्शन तथा शिक्षा अध्ययन गरी उनले त्यससम्बन्धी ग्रन्थ र ज्ञान चीनमा पुर्‍याएका थिए। त्यसैले उनको यात्रालाई चीन, नेपाल, भारत तथा प्राचीन बौद्ध सभ्यताबीचको ऐतिहासिक ज्ञान–सम्बन्धको महत्वपूर्ण सेतुका रूपमा हेर्ने गरिन्छ।
नेपालमा अभियान प्रवेश गर्दा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित बौद्ध धर्मसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक सम्पदालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसर सिर्जना हुने देखिएको छ।
नेपाल र चीनबीचको सम्बन्ध केवल आधुनिक कूटनीतिक तथा आर्थिक सहकार्यमा सीमित नभई प्राचीनकालदेखि नै बौद्ध धर्म र संस्कृतिको माध्यमबाट समेत जोडिएको इतिहास छ। स्युयान चाङको यात्राको पुनःअनुसरणले यही ऐतिहासिक तथा आध्यात्मिक सम्बन्धलाई नयाँ पुस्तामाझ प्रस्तुत गर्ने अवसर दिने अपेक्षा गरिएको छ।
अभियानका क्रममा सहभागी अनुसन्धानकर्ता, संस्कृति तथा पर्यटन विज्ञ, यात्रामार्ग सर्वेक्षणकर्ता र सञ्चारकर्मीले सम्बन्धित मुलुकका ऐतिहासिक स्थल, बौद्ध सम्पदा, स्थानीय संस्कृति र धार्मिक परम्पराको अभिलेखीकरण गर्नेछन्। यसबाट नेपालका बौद्ध सम्पदा र तीर्थस्थललाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा पर्यटन सञ्जालसँग जोड्न सकिने सम्भावना देखिएको छ।
नेपालमा लुम्बिनी, काठमाडौं उपत्यकाका बौद्ध सम्पदा, नमोबुद्ध, फर्पिङ तथा अन्य बौद्ध तीर्थस्थललाई अन्तर्राष्ट्रिय बौद्ध पर्यटनसँग जोड्ने प्रयास हुँदै आएका छन्। स्युयान चाङको यात्रालाई पुनःअनुसरण गर्ने यो अभियानले त्यस्ता सम्पदाको प्रचार–प्रसारमा थप योगदान पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ।
विशेषगरी चीन, मध्य एसिया र दक्षिण एसियाबीचको ऐतिहासिक बौद्ध मार्गलाई पर्यटन मार्गका रूपमा विकास गर्न सके नेपालले बौद्ध तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा आफ्नो भूमिका अझ विस्तार गर्न सक्ने देखिन्छ।
चाइना आर्ट्स एन्ड इन्टरटेनमेन्ट ग्रुपका अध्यक्ष क्वुओ लिचुनले स्युयान चाङले कठिन परिस्थितिका बाबजुद ज्ञान र शान्तिको खोजीमा गरेको यात्रा प्राचीन सिल्क रोडको शान्ति, खुलापन र समावेशिताको भावनाको प्रतीक भएको बताउनु भएको छ। उहाँका अनुसार स्युयान चाङको पदचिह्न पछ्याउनु शान्ति र मित्रताको यात्रा हो। सांस्कृतिक तथा पर्यटन आदान–प्रदानमार्फत विभिन्न देशका जनताबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
चीनमा रहेका नेपाल, भारत, पाकिस्तान र किर्गिस्तानका दूतावासका प्रतिनिधिहरूले समेत अभियानप्रति समर्थन जनाएका छन्। नेपालका लागि भने यो अभियान बुद्धको जन्मभूमि, प्राचीन बौद्ध सभ्यता र हिमालय क्षेत्रको बौद्ध सांस्कृतिक सम्पदालाई चीन तथा विश्व समुदायसँग जोड्ने महत्वपूर्ण अवसर बन्न सक्ने देखिएको छ।
यस अभियानमार्फत स्युयान चाङले पछ्याएको प्राचीन बौद्ध ज्ञानमार्गलाई आधुनिक सांस्कृतिक तथा पर्यटन मार्गका रूपमा पुनर्जीवित गर्न सके नेपाल–चीन–भारतबीचको बौद्ध पर्यटन तथा सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन सकिने अपेक्षा गरिएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर