काठमाडौँ। नेपालमा व्यावसायिक (बिजनेस) भिसा लिएर आएका विदेशी नागरिकहरूले भिसाको उद्देश्यविपरीत गैरकानुनी गतिविधि तथा अवैध व्यापार गरिरहेको फेला परेको छ। उद्योग विभाग र अध्यागमन विभागबाट विशिष्ट कार्यका लागि अनुमति लिई अर्कै क्षेत्रमा संलग्न हुने प्रवृत्ति बढेपछि गृहमन्त्रालयले गत सेप्टेम्बर २२ देखि देशव्यापी रूपमा ‘स्वीप अपरेशन’ सञ्चालन गरिरहेको छ।
अध्यागमन विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालका अनुसार नेपालमा हाल विभिन्न मुलुकका २ हजार २ सय ९० जना विदेशी नागरिक बिजनेस भिसामा बसोबास गरिरहेका छन्। जसमध्ये सबैभन्दा बढी १३४५ जना चिनियाँ, २१५ जना अमेरिकी, १५९ जना दक्षिण कोरियाली, १११ जना बङ्गलादेशी र ४८ जना जापानी नागरिक रहेका छन्।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीको समन्वयमा मरिण गाउँपालिका–४ स्थित ‘जियान फुड्स प्रा.लि.’ मा छापा मार्दा भिसाको गम्भीर दुरुपयोग भएको पाइएको छ। अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएर मासु प्रशोधन उद्योगमा कार्यरत रहेका ८८ जना विदेशी नागरिकको बिजनेस भिसा रद्द गरिएको छ। कुल ५०१ जना चिनियाँ नागरिक कार्यरत रहेको उक्त क्षेत्रमा गैर कानुनी गतिविधि बढेको र सामाजिक वातावरण धमिल्याएको जनगुनासो आएपछि अध्यागमनले कारबाही अघि बढाएको जानकारी दिएको छ ।
अध्यागमन विभागको अनुसन्धान अनुसार विदेशी नागरिकहरूले काठमाडौँमा कागजी कम्पनी खडा गरी मोफसलका सहरहरूमा खुद्रा व्यापार चलाउने नयाँ शैली अपनाएका छन्।
काठमाडौँको महानगरपालिका–११ मा सूचना प्रविधिमा आधारित ‘तोङ्ग आई.टी. ग्रुप प्राइभेट लिमिटेड’ दर्ता गरी ‘अटोमेटिक रुट’ मार्फत वार्षिक २४ वटा सफ्टवेयर प्याकेज बनाउने अनुमति लिइएको थियो। तर, काठमाडौँमा सफ्टवेयरको एउटा कोड पनि नलेखी सोही समूहले विराटनगरका गल्लीहरूमा ९९, १६० र १९९ रुपैयाँका सस्ता तथा डुप्लिकेट कस्मेटिक मार्टहरू सञ्चालन गरिरहेको पाइएको छ।
यसैक्रममा विराटनगरको सेन्ट्रल मलस्थित ‘योनो मार्ट’ बाट चिनियाँ नागरिक जिङ्सियान सिए र ‘एभरपिक सप्लायर्स’ बाट लि जोसिज्याकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कागजी रूपमा नेपाली नागरिकको नाममा पसल दर्ता गरे पनि पर्दापछाडिका वास्तविक मालिक भने चिनियाँ नागरिक नै रहेको अनुसन्धानबाट खुलेको छ।
यी गिरोहले दैनिक लाखौँ रुपैयाँको कारोबार गरे तापनि ग्राहकलाई वैधानिक प्यान वा भ्याट बिल नदिई आफ्नै चिनियाँ सफ्टवेयर र ‘विच्याट’ (WeChat) मार्फत रकम भुक्तानी लिएर ठूलो परिमाणमा राजस्व छली गर्दै आएका छन्। विराटनगरपछि इटहरी, धरान, दमक, बिर्तामोड र इनरुवा लगायतका सहरमा समेत शाखा विस्तार गर्ने योजना उनीहरूको थियो।
भारतीय सीमा नजिक चिनियाँ नागरिकहरूको सक्रियता बढेपछि छिमेकी भारतले पनि चासो व्यक्त गरेको थियो। तर अध्यागमन विभागका निर्देशक ढकालका अनुसार यो कुनै भूराजनीतिक वा जासुसी मिसन नभई विशुद्ध नाफामूलक र संगठित धन्दा मात्रै हो। नेपालको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ ले विदेशी नागरिकलाई खुद्रा व्यापारमा लगानी गर्न पूर्णतः बन्देज लगाएको छ।
अध्यागमन विभागले विद्यमान ३५ वर्ष पुरानो र कमजोर कानुनका कारण विदेशीहरूले नीतिगत छिद्रको फाइदा उठाएको स्वीकारेको छ। हाल नेपालमा ९ प्रकारका मात्र भिसा उपलब्ध रहेकाले नयाँ अध्यागमन विधेयकमा १७ प्रकारका भिसा प्रस्ताव गरी मन्त्रालय पठाइएको छ।
अध्यागमन स्रोतका अनुसार विदेशीहरूलाई काठमाडौँमा कागजी कम्पनी खडा गरिदिने, सेटिङ मिलाएर ‘अटोमेटिक रुट’ बाट फाइल पास गराउने र भिसा दिलाउने कार्यमा पूर्वप्रशासक र केही ल फर्महरूको संगठित सञ्जाल सक्रिय रहेको अर्को एक स्रोतको दावी छ । विभागले गैरकानुनी कार्यमा संलग्न विदेशी नागरिकलाई निष्कासन (डिपोर्ट) सम्मको कडा कारबाही गर्ने जनाएको छ।
ताजा अपडेट
लाेकप्रिय
©2026 All Right Reserved www.gaunagar.com | Powered By Sampurna Media Pvt. Ltd.


